चिनियाँ हस्तक्षेपले ताइवानसँगको सीमा क्षेत्रमा तनाव

चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । चिनियाँ सेनाले दुई दिनसम्म चल्ने यो सैन्य अभ्यास (मिलिट्री ड्रिल) लाई आफ्नै सरकार चलाउने ताइवानलाई उसको ‘पृथकतावादी गतिविधि’का लागि ‘कडा सजाय’ भनेको छ ।

ताइवानमा नयाँ राष्ट्रपति विलियम लाईले तीन दिनअघि मात्रै आफ्नो पदको जिम्मेवारी सम्हालेका थिए । यस अवसरमा विलियमले चीनलाई ताइवानलाई धम्की नदिन र त्यहाँको लोकतन्त्रको अस्तित्व स्वीकार गर्न आग्रह गरेका थिए ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ । चीनले यो पनि भनेको छ कि ताइवानले अन्ततः एक दिन बेइजिङको नियन्त्रणमा आउनै पर्छ । तर ताइवान चीनको यो तर्कसँग सहमत छैन र आफूलाई छुट्टै र स्वतन्त्र भौगोलिक इकाइको रूपमा हेर्छ ।

ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यासको आलोचना गरेको छ । ताइवानको रक्षा विभागले यसलाई ‘बेतुकको उत्तेजना’ भनेको छ । ताइवानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सीमा क्षेत्रमा नौसेना, वायुसेना र सेनालाई तैनाथ गरेको जनाएको छ ।

ताइवानका सैन्य विज्ञहरूले बिहीबारदेखि सुरु भएको सैन्य अभ्यास आर्थिक नाकाबन्दी लगाउनुको सट्टा व्यापक आक्रमणको तयारीको रुपमा पहिलो पटक अभ्यास गर्न लागिएको बताउँछन् । चीनले ताइवानको मुख्य भूमि वरपर जताततै यी सैन्य अभ्यासहरू गरिरहेको छ । पहिलो पटक ताइवानको नियन्त्रणमा रहेका केही टापुहरूलाई पनि निशाना बनाइएको छ ।

सैन्य अभ्यासको उद्देश्य
यी टापुहरू किनमेन, मात्सु, वुकियु र डोंग्यिन हुन् । चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले जारी गरेको नक्साअनुसार यी टापुहरू चीनको तट नजिकै छन् । सैन्य अभ्यास ताइवानको पूर्वमा पनि भएको छ । पूर्वी तट पहाडको अर्को छेउमा अवस्थित छ । उबडखाबडयुक्त पूर्वी तट लामो समयदेखि ताइवानको सेनाको शक्ति बन्दै आएको छ ।

ताइवानले आफ्नो पूर्वी तटमा रहेका अधिकांश सैन्य पूर्वाधारलाई बलियो बनाएको छ । यसमा पहाडभित्र अवस्थित भूमिगत सैन्य एयरबेस पनि छ । यो हुवालिन सहर नजिक छ । यो जापानको दक्षिणी टापुहरूको नजिक छ, जुन त्यहाँ पुग्नको लागि कुमुक (सैन्य सहायता) को लागि प्राकृतिक मार्ग पनि हो । ताइवानको पूर्वमा चीनले आफ्नो नौसेना र वायु सेनाको गस्ती पठाउनुको अर्थ हो, यसको पूर्वी क्षेत्र चिनियाँ आक्रमणबाट सुरक्षित छैन । यसले अमेरिकालाई यो पनि देखाउन चाहन्छ कि पूर्वबाट ताइवानलाई सैन्य सहायता पठाउने कुनै पनि प्रयास गरेमा चिनियाँ मिसाइल र नौसैनिक आक्रमणको खतरा सामना गर्नुपर्नेछ ।

पीएलएले आफ्नो सैन्य अभ्यासको केन्द्रविन्दु भनेको समुद्री र हावाबाट आक्रमण गर्न सक्षम गस्ती गर्ने, मुख्य लक्ष्यहरूलाई सही रूपमा प्रहार गर्ने र यसका सैन्य बलहरूको तयारीको मूल्यांकन गर्न ताइवान भित्र र बाहिर एकीकृत मिसनहरु सञ्चालन गर्ने भएको जनाएको, जसले एकैपटक युद्ध लड्ने क्षमता परीक्षण गर्न सकियोस् । ताइवानी मिडियाले सैन्य विशेषज्ञ चिह चुङलाई उद्धृत गर्दै भनेका छन् कि चिनियाँ सैन्य अभ्यासको उद्देश्य ‘ताइवानमा व्यापक आक्रमणको तयारी गर्नु हो ।’

गत वर्ष चीनले धेरै पटक यस्तो सैन्य अभ्यास गरेको थियो, जसमा ताइवानलाई लडाकु विमान र नौसैनिक जहाजहरूले घेरेको थियो । ताइवानले विलियमको कार्यकाल सुरु हुनुभन्दा अघिल्लो दिनदेखि नै आफ्नो जल तथा हवाई क्षेत्रमा घुसपैठ बढेको बताएको छ ।
ताइवानको नाकाबन्दी तत्कालीन अमेरिकी कांग्रेस सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले अगस्ट २०२२ मा पहिलो पटक ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गरेको थियो । यस सैन्य अभ्यासमा चीनले जहाज, लडाकु विमान र मिसाइल आक्रमणको सहयोगमा ताइवानमाथि नाकाबन्दी गरेको थियो ।

पीएलएले बिहीबार भनेको छ कि यो सैन्य अभ्यास ताइवान स्वतन्त्रता बलहरूको पृथकतावादी गतिविधिहरूको लागि कडा सजाय र बाह्य शक्तिहरूको हस्तक्षेप र उक्साहटविरुद्ध कडा चेतावनी हो । यसैबीच चीनको विदेश मन्त्रालयले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षाका लागि सैन्य अभ्यास ‘आवश्यक र वैधानिक कदम’ भएकोमा जोड दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने कुरामा जोड दिनु आवश्यक छ । यो ऐतिहासिक तथ्य र वस्तुगत यथार्थ दुवै हो । यो भविष्यमा परिवर्तन हुने छैन । स्वतन्त्रता असफल हुने निश्चित छ ।’

गत सोमबार ताइवानका राष्ट्रपति विलियम लाईले आफ्नो कार्यकालको पहिलो सम्बोधनमा भनेका थिए, चीनले ताइवानलाई धम्की दिन बन्द गर्नुपर्छ । चीनले यो भाषणको निन्दा गरेको छ । यसका विदेशमन्त्री वाङ यीले ताइवानका राष्ट्रपति विलियन लाइलाई ‘लज्जास्पद’ भनेका छन् ।
जनवरीमा विलियम लाईको चुनावी विजयपछि बेइजिङले ‘ताइवान चीनको हिस्सा हो’ भनेर जोड दिँदै एक विज्ञप्ति जारी ग¥यो । यति मात्र होइन, विलियम लाईको ताइवानमा वार्ताको प्रस्ताव पनि चीनले अस्वीकार गरेको थियो ।

चीनले यसअघि विलियम लाईलाई ‘पृथकतावादी’ र ‘समस्या उत्पन्न गर्ने’ भनेर वर्णन गरेको थियो । यसको कारण विलियम लाईले विगतमा ताइवानको स्वतन्त्रताको समर्थनमा बयान दिँदै आएका थिए ।

ग्रे जोन
ताइवानको विदेश मन्त्रालयले बिहीबारको सैन्य अभ्यासलाई चीनको लडाकु स्वभावको उदाहरण भएको बताएको छ । ‘हालका वर्षहरूमा, चीनको विमान र जहाजहरूले विश्वव्यापी शान्ति र स्थिरतालाई हानि पु¥याएको छ,’ मन्त्रालयले भन्यो । ताइवानको राष्ट्रपति कार्यालयले पनि चीनको एकपक्षीय सैन्य उक्साहट ताइवानको लोकतन्त्र र स्वतन्त्रताका लागि खतरा भएको बताएको छ ।

यसैबीच, ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिलले चीनसँगको सम्बन्धसँग सम्बन्धित आफ्नो उद्देश्यमा कुनै परिवर्तन नभएको बताएको छ । यो परिषद चीनसँग ताइवानको सम्बन्धको लागि जिम्मेवार छ । सभामुख लियाङ वेन–चीहले भने, ‘चीनले आफ्नो धम्कीबाट जनताको मन र दिमाग जित्न सक्दैन भन्ने कुरा बुझ्नुपर्छ ।’ यद्यपि चीन र ताइवानबीच व्यापार जारी छ, तर उनीहरूबीच अहिले कुनै औपचारिक वार्ता छैन ।
विश्लेषकहरू भन्छन् कि सी चिनफिङको पालामा चीनले ठूलो स्वरमा ताइवानमाथि आफ्नो दाबी विश्वसामु प्रस्तुत गरेको छ । सी चिनफिङले सधैं एक दिन ताइवान चीनसँग विलय हुने कुरा भन्दै आएका छन् । गत वर्ष डिसेम्बरमा ताइवानको चुनावअघि सीले पनि यही कुरा दोहोर्याएका थिए ।

हालसम्म, ताइवान वरपर चीनको सैन्य अभ्यास ग्रे जोनमा सीमित छ र ताइवानमाथि आक्रमण मान्न सकिँदैन । विश्लेषकहरूले बीबीसीलाई भनेका छन् कि ग्रे जोनमा युद्ध अभ्यासको उद्देश्य विरोधीहरूलाई लामो युद्धमा संलग्न गराएर कमजोर पार्नु हो । उनका अनुसार चीनले ताइवानसँग पनि त्यस्तै गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *