आधारभूत तालिममा यी प्रहरी निरीक्षक भए उत्कृष्ट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरे ।

साथै उनले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गरे । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उनले व्यक्त गरे ।

तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताए । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उनले उच्च प्रशंसा गरे ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताए ।

प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराएका थिए ।

२०७९ मंसिर २५ देखि सुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १८ महिला सहित कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *