संसदको गरिमा र ओझ खस्कँदै गएको छः पूर्वसभामुख सापकोटा

माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बाग्मती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन, मर्यादाहीन भएको बताए ।

उनले संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताए । उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए ।

आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको सापकोटाको भनाइ छ । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।

‘संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ । ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभई आफ्नो साख गिराउँदै छ,’ सापकोटाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर