सन्दीपलाई वेस्ट इन्डिजमा भए पनि खेलाउने क्यानको तयारी

अमेरिकाले भिसा नदिएपछि टी–२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेको सहभागिताबारे अनिश्चितता देखिएको छ । तर, नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले उनलाई वेस्ट इन्डिजमा भए पनि खेलाउने तयारी गरेको छ ।

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएपछि लामिछानेलाई विश्वकपमा पठाउन क्यानले तयारी गरेको थियो । तर, अमेरिकाले भने उनलाई भिसा दिन अस्वीकार गरेको हो ।

टी–२० विश्वकप यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने तय भएको छ । नेपालले आफ्नो समूह चरणका दुई खेल अमेरिका र दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । अमेरिकमा नेपालले नेदरल्यान्ड्स र श्रीलंकासँग खेल्नेछ भने वेस्ट इन्डिजमा बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्ने तालिका छन् । हाल नेपाली टोली अमेरिकामा अभ्यासरत छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सरकारले लामिछानेको भिसाका लागि पहल गरिरहेको छ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि लामिछानेलाई नेपाली टोलीमा सहभागी गराउन अनुमति दिएको छ ।

अन्तिम टोली घोषणामा १४ जनाको नाम राख्ने र लामिछानेको भिसा विषयमा निर्णय भएपछि १५ औं खेलाडी टुंगो लगाउने गरी आईसीसीसँग सहमति भएको चन्दको दाबी छ । लामिछानेले अमेरिकाको भिसा नपाएको खण्डमा भने वेस्ट इन्डिजमा मात्र खेलाउने बारे पनि छलफल भइरहेको भनाइ छ ।

लामिछानेले यसअघि वेस्ट इन्डिजको टी–२० लिग सीपीएलमा सहभागिता जनाएका थिए । त्यसकारण उनलाई त्यहाँ जान भिसाका लागि सहजता हुने क्यानको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *