सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट छनोट गर्नुपर्छः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै सांसद सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने र व्यक्तिको सम्पत्तिको सीमांकन गर्नुपर्ने बताए । सुगौली सन्धि, गोर्खा भर्ती, सन् १९५० को सन्धि, महाकाली सन्धि, फुकोट–कर्णाली सन्धि, एमसिसी, बिमस्टेक र सौर्य गठबन्धन सम्झौता खारेज गर्नुपर्ने सुवालको भनाइ छ ।

‘प्रतिपक्षलाई समझदारी गरेको भए हुन्थ्यो । औपचारिकता पूरा गर्नु देशको हितमा छैन । दुई नम्बर बुँदामा मानिसले मानिसलाई शोषण गर्न नपाउने राजनीतिक र आर्थिक व्यवस्था बनाइनेछ थप्नको निम्ति संशोधन राखेको छु । बुँदा १४ मा मजदुर वर्गको सरकार गठन हुने, समाजवादी व्यवस्थाको विषयलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा राखी अध्ययन, अध्यापन गराइनेछ लेख्नुपर्छ । बुँदा १५ र २८ मा ठूल्ठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिने संविधान संशोधन गरिनेछ । बुँदा १६ मा न्यायपालिका, संवैधानिक आयोग र सेना, प्रहरीसमेत नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनोट गरिनेछ लेख्नुपर्छ । नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने, व्यक्तिको सम्पत्तिको सीमांकन गरिनेछ लेख्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *