काठमाडौं महानगरले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री महासेठले न्युरोडमा काठमाडौं महानगरपालिकाको क्रियाकलाप कानुनसम्मत नभएको बताएका हुन् ।

काठमाडौंका मेयर बालेन साहले फेसबुक स्टाटसमा लेखेको कुरामा कुनै सत्यता नभएको पनि बताए । शनिबार मेयर साहले मन्त्री महासेठलाई सम्बोधन गर्दै कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा महानगरवासीले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उल्लेख गरेका थिए ।

उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगागि फोहोर राखिदिएको भिडियो हालेका थिए ।
यसप्रति प्रतिक्रिया दिँदै मन्त्री महासेठले मेयर साहको सल्लाह, सुझावलाई सकारात्मक रुपमा लिएको बताए । उनले रिङरोड बनाउने सम्झौता चीनसँग भएको भन्दै सरकारले पनि आन्तरिक बजेटबाट केही स्थानमा बनाउनका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिए ।

‘हामीले सामान्य रुपमा लिएका छौँ । उहाँले सल्लाह दिइरहनुभएको छ । मुखले बोल्नु भन्दा पनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन । चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरुले बनाउदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ,’ महासेठले भने ।

उनले न्युरोडमा भएको तोडफोडलाई सडक विभागले रोकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *