बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद सजाय

बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय भएको छ ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार मेयर अधिकारीसहित तीनजना वडाध्यक्षलाई एक महिना जेल सजाय हुने फैसला सुनाएको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई जेल सजायको फैसला सुनाएको हो ।

सार्वजनिक जग्गामा बनेका संरचना अदालतको फैसला अनुसार हालसम्म नछाडेको देखिएको ठहरसहित नगरपालिकाको नेतृत्वलाई अदालतले सजाय सुनाएको हो ।

विवादित क्षेत्रमा रहेका संरचना हटाउन १०० दिनको समयसहित अदालतबाट २०८० वैशाख १७ गते नै चलन दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको ठहर न्यायाधीश आचार्यले फैसलामा भनेका छन् ।

न्यायाधीश आचार्यले तल्लो तहको अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म अक्षरस कार्यन्वयन गर्नु पर्नेमा नगरपालिकाले त्यसो नगरेको देखिएको जनाएका छन् । अदातले कुनै पनि बहानामा आदेश कार्यान्वयन अटेर गर्न नमिल्ने पनि भनेको छ ।

‘बूढानीलकण्ठ नगर कार्यपालिकाले पठाएको पत्र हेर्दा विवादित जग्गा सार्वजनिक प्रयोजनको लागि आवश्यक रहेको भनेकोमा उक्त कार्य २०७७ सालदेखि हालसम्म नभएको अवस्था छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको  २०८० फागुन १० गतेको पत्र हेर्दा स्थानीय तहको जग्गा प्राप्तिसम्बन्धी कारबाही यस मन्त्रालयको नपर्ने पनि फाइल फिर्ता पठाएको अवस्था छ’, अदालतले भनेको छ, ‘निवेदकले उक्त स्थानमा पाएको जग्गा पनि त्यसभन्दा पहिले निजको जग्गा राज्यले लिएर शोधभर्ना स्वरूप लिएको देखिन्छ। सो स्थानमा पनि जग्गा राज्यलाई चाहिन्छ भन्ने हो भने पूरै जीवन वैकल्पिक वासस्थानको लगि भौतारिनु पर्ने अवस्था देखिन आएको छ।’

नगरपालिकाले जग्गा चाहिन्छ भन्ने र समयमा निकासा नदिएर कब्जामै राखी राख्न नमिल्ने पनि अदालतले भनेको छ ।

‘यी वादीले १५/१६ वर्षपछि मात्र श्रेस्ता पाउन सफल भएको अवस्थमा जीवनभर राज्यका विरूद्ध मुद्दा लडदै हिँडने भन्ने हुदैन। निवेदक ज्येष्ठ नागरिकसमेत रहेको अवस्था छ’, अदालतले भनेको छ, ‘प्रतिवादीहरूले तत्काल जग्गा कब्जा गरेको कारण खिचोला मेटाई घर, टहरा संरचना भत्काई हटाई चलन चलाई क्षतिपूर्ति समेत दिलाई पाऊँ भन्ने मुद्दा यी प्रतिवादीहरूविरुद्धमा रिट दायर गरेकोमा नगरपालिकाले सार्वजनिक प्रयोजनको लागि आवश्यक रहेको भन्दै प्रतिवाद गरेको र हालसम्म सो विषयलाई तार्किक निष्कर्षमा समेत नपुऱ्याएको कार्यले नगरपालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको देखिन आएको छ । यसो गर्ने अधिकार राज्यको हुँदैन। प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको समेत देखिन आएको छ।’

अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गरेको ठहरसहित प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार जनही १ महिना कैद हुने फैसला आचार्यले सुनाएका हुन् । उक्त कैद लगत कसी प्रहरीमार्फत पक्राउ गरी असुल उपर गर्न पनि उनलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *