सरकारले सञ्चालन गरिरहेका सबै उद्योग घाटामा

सरकारले सञ्चालन गरिरहेका सबै उद्योग घाटामा गएका छन् । अर्थ मन्त्रालयले आइतबार जारी गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८१’ अनुसार हाल सञ्चालनमा रहेका सातवटै उद्योग खुद नोक्सानमा रहेको देखिएको हो ।

सरकारले दुग्ध विकास संस्थान (डिडिसी), जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट र बुटवल धागो कारखाना लिमिटेड सञ्चालन गरिरहेको छ ।

स्वदेशी कच्चा पदार्थको उपयोग क्षेत्रको मूल्यमा हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनेदेखि निर्यात गर्नेसम्मको लक्ष्य राखेर सरकारले स्थापना गरेका यी उद्योग अहिले घाटामा सञ्चालन भइरहेका छन् । देशभर दुध बिक्रीमा करिब ५० प्रतिशत हिस्सा ओगटिरहेको डिडिसी गत आर्थिक वर्ष ०७९/८० मा ४८ करोड ४२ लाख घाटामा गएको छ । निजी क्षेत्रका साना–ठूला डेरी उद्योग भने नियमित नाफामा सञ्चालित छन् ।

त्यस्तै, सरकारको स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा र उदयपुर पनि घाटामा छन् । हेटौँडा सिमेन्ट २५ करोड ४९ लाख र उदयपुर सिमेन्ट ३६ करोड २९ लाख रुपैयाँ नोक्सानमा छन् ।

सन्चो ब्रान्डमा औषधि उत्पादन गर्दै आएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड दुई करोड ८४ लाख रुपैयाँ नोक्सानमा छ । उद्योग स्थापनाको सुरुवाती समयमा नाफा आर्जन गरेको यो कम्पनी पछिल्लो समय बजार विस्तारको रणनीति बनाउन नसक्दा घाटामा जान थालेको हो । तर, जडीबुटी उद्योगले उत्पादन गर्ने प्रकृतिका औषधिहरू भने विभिन्न मुुलुकबाट आयात भइरहेका छन् ।

सिटामोल, जीवनजल, स्यानिटाइजरलगायतका विभिन्न औषधि उत्पादन गरिरहेको औषधि लिमिटेड १५ करोड ५५ लाख रुपैयाँ नोक्सानमा छ । बहुमूल्य धातु म्याग्नेसाइट उत्खननका लागि खोलिएको ओरिन्ड म्याग्नासाइडले गत आवमा १६ करोड ५९ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

हाल खानी विभागको एउटा कोठामा सीमित यो उद्योगले उत्खननको काम गर्न सकेको छैन । तर प्राविधिक परीक्षण, मेसिनरी औजार खरिद र कर्मचारी भरणपोषणमा ठूलो रकम खर्च भइरहेको छ । बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाले गत आवमा तीन करोड ४४ लाख रुपैयाँ नोक्सान बेहोरेको छ ।

नाफामा गएका संस्थानबाट सरकारले १० अर्ब ४५ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । अघिल्लो वर्ष ०७८/७९ मा ६ अर्ब १५ करोड ५१ लाख मात्र लाभांश प्राप्त भएकोमा ०७९/८० मा ६२.५४ प्रतिशतले बढेको हो ।

सार्वजनिक संस्थानबाट गत आवमा सरकारले १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६.९७ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षमा आयकरको योगदान ५.५९ प्रतिशत थियो । सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व ४७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो आव ०७८/७९ मा यस्तो दायित्व ५२ अर्ब ८७ करोड दुई लाख थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *