सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्‍यो : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शाीन्त प्रतिष्ठानले आयोजना गरेको गणतन्त्र दिवस संविधान कार्यान्वयनः दलको उदासिनताका वा सरकारको ? विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढंगले पक्राउ गरिएको बताए । उनले अदालतलाई दोष दिएर उम्किने ठाउँ नरहेको बताए । उनले सरकार एक्टिभ नभइ अदालतले पक्राउ गर्नु भनेर आदेश नदिने जिकिर गरे ।

उनकाे भनाइ यस्ताे छ, ‘एउटा सामान्य कुरालाई लिएर संसद अवरुद्ध भएको छ । म सामान्य कुरा भन्दछु । गृहमन्त्रीमाथि आरोप लाग्यो, सारा प्रेस जगतले लेख्यो । संसदमा प्रतिपक्षले कुरा उठायो । संसदीय छानबिन समिति गठन गरौँ है भनेर कुरा त राखेको हो प्रतिपक्षले बढी केही कुरा राखेको होइन । विगतमा पनि यस्तो हुने गरेकै हो । विगतका मन्त्रीहरुका बारेमा पनि जब प्रश्न उठ्यो । संसदीय छानबिन समिति बन्ने गरेकै हो ।

त्यस्तै गरौँ भनेको सम्म त हो नि । यो पनि उठ्ने थिएन होला, सायद उहाँ गृहमन्त्री नबनेर अर्कै मन्त्री बन्नुभएको भए । प्रहरीले उहाँमाथि आफैँ अनुसन्धान गर्दथ्यो होला । यो जुन सहकारीको रकम अपचलनको विषय उठ्यो, अपचलन, ठगी भएको कुरा । अनुसन्धान गर्ने निकाय प्रहरी नै हुन्छ, प्रहरी गृहमन्त्रीकै मातहतमा हुन्छ । प्रहरी प्रभावित स्वतः भइहाल्यो । महान्यायाधिवक्ताले उहाँको दोष देखिँदैन भनेर पत्र दिइसक्नु भयो । सेना आइजीपीले उहाँको कुनै दोष छैन भनिसक्नु भयो भनेपछि प्रहरी संगठन के गर्दै होला ।

महान्यायाधिवक्ता कार्यालयले के गर्दै होला ? बुझिसक्यौँ नि त सबैकुरा । संसदीय छानबिन समिति बनाएर नीतिगत रुपले तथ्यमा प्रवेश गराएर नीतिगत रुपले सम्बोधन गर्दा जे रिपोर्ट आउला, त्यो रिपोर्ट त उहाँले मान्नुपर्ने हो । नेपाली काँग्रेसले व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि बढ्दैन । तर आज दुःखका साथ भन्नुपर्छ, कैलाश सिरोहियालाई पक्राउ गर्न किन गृहमन्त्रीले आदेश दिनुभयो ? मैले नबुझेको कुरा यहाँ छ । प्रधानमन्त्रीसँग पनि भन्यौँ ।

अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला नि भन्ने किसिमको जवाफ दिनुभयो । यो त हल्का जवाफ भयो प्रधानमन्त्रीज्यु यसरी भन्न भएन हामीलाई कम्तीमा । सरकारले प्रहरीलाई अदालतमा पत्र लिएर जाउ, पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालतले आफैँ भएको हो त ? अदालत आफैँ एक्टिभ भएको हो त, अदालतले पक्राउ गर भनेर पुलिसलाई निर्देशन दिएको होइन नि । सरकार एक्टिभ हो । अदालतलाई दोष दिएर उम्किने ठाउँ सरकारको छैन । अत्यन्त दुराशय ढंगले जुन परिस्थितिमा पक्राउ गर्नुभयो । जुन तरिकाले पक्राउ गरेर जसरी हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको छ, त्यसको निस्कर्षमा भन्ने हो भने कानूनको कपटपूर्ण प्रयोग भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *