विपद जोखिम र उद्धारसम्बन्धी कानून कार्यान्वयनमा समस्या छः आईजीपी कुँवर

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले जोखिम उद्धारसम्बन्धी कानूनहरु कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए । उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए । प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई जोखिम उद्धार परिचालन गर्ने गरिएको उनले जानकारी दिउ ।

जिल्ला तहमा प्रहरीमा पनि विज्ञ उद्धार टोलीको अभाव रहेको कुँवरको भनाइ छ । उनले विपदमा तत्काल घरेलु किसिमका उद्धारमा प्रयोग हुने घरेलु औजारहरु मात्रै रहेको गुनासो गरे ।
‘धेरै पटक अन्य सहयोग जुटाउन खोज्दा पनि सहयोग प्राप्त भएको छैन । जोखिम क्षेत्र थाहा भए पनि सूचना दिएर व्यवस्थापन गर्न सकिएको छैन । त्यो कुरा गर्न सकियो भने समस्या छैन । हामी सहजीकरण, समन्वय र तत्काल उद्धार गर्ने हकमा काम गरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *