सांसद विन्द्यवासिनी कंशाकारद्वारा महिला तथा सामाजिक मामिला समितिमा क्षतिपूर्तिको निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यवासिनी कंशाकारले तेजाव आक्रमण भएबापत आफूले पाउनुपर्ने रकम नपाएको भन्दै महिला तथा सामाजिक मामिला समितिमा क्षतिपूर्तिको निवेदन दिएकी छिन् ।

सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा उनले यसबारेमा जानकारी गराइन् । वसन्तपुरको घटना भइसकेपछि आफैँले पनि अरुलाई क्षतिपूर्ति कसरी दिलाउने भनेर पछ्याइरहेको र आवाज उठाएर क्षतिपूर्ति पनि दिलाइरहेको बताइन् । हेटौंडाकी कंशाकारमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले एसिड छ्यापेका थिए । आफ्नो प्रेम प्रश्ताव अस्वीकार गरेपछि उनले कंशाकारमाथि एसिड छ्यापेका थिए । अभियुक्त ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र अहिले जेल सजाय काटिरहेका छन् । समितिको बैठकमा बोल्दै कंशाकारले भने आफूले कुनै विदेशी संघसंस्थाहरुबाट कुनै रकम नलिएको र आफूलाई स्थानीय सरकारले समेत कुनै रकम नदिएको गुनासो गरिन ।

उनले भने, ‘वसन्तपुरको घटना भइसकेपछि म आफैँले पनि फलोअप गरेर अरुलाई क्षतिपूर्ति कसरी दिलाउने के गर्ने ? भनेर अरुको लागि त मैले धेरै पहल गरेँ । स्थानीय तहबाट पनि कतिले पाएका छन् । एन्जिओ, आइएन्जिओ र देश विदेशबाट आएको डोनेसनहरु पनि उहाँहरुले पाउनुभएको छ । मैले न स्थानीय तहबाट पाएँ, न संघबाट पाएँ । न कसैको डोनेशन पाएँ । त्यसकारण मैले आज क्षतिपूर्तिको निवेदन पनि समितिमा हालेको छु । ०७२ साल पछिको घटनाहरुमा धेरै थोरै उहाँहरुले लिइ पनि रहनुभएको छ । ०७२ सालपछि जतिपनि तेजाव आक्रमणमा पर्नुभयो महिला र पुरुष जतिपनि । उहाँहरुसँग मेरो रेगुरलर नै भेटघाट छ ।’

यता सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले विन्द्यवासिनी कंशाकरको क्षतिपूर्ति अझै बढी हुनुपर्ने र राज्यले क्षतिपूर्तिको निर्धारण गर्न आवश्यक रहेको बताए । विन्द्यवासिनी कंशाकरको रकम ठूलो रहेको र क्षतिपूर्ति स्वरुप अदालतमा छलफल जारी रहेको बताइन् । उनले क्षतिपूर्ति एक करोड १४ लाख ८५ हजार रहेको भनिएपनि उक्त रकम खर्चमै लागेको बताए । उनले पीडित राहत कोषमा विभिन्न क्षतिपूर्तिहरुबारे छलफल हुँदा सांसद कंशाकारको बारेमा छलफल गरेको जानकारी दिइन । चालु आर्थिक वर्षमा करिव ७५ जना भन्दा बढी पीडितहरुले क्षतिपूर्तिबापतको रकम पीडित राहत कोषबाट पाइसकेको पनि बताए ।

उनले भनिन्, ‘मान्य विन्द्यवासिनीज्युलाई पर्न गएको भौतिक क्षति होला, उहाँलाई मानसिक क्षति छ, अवसरबाट वञ्चित हुनुभएको छ । उहाँलाई सामाजिक किसिमको पीडा छ । उत्पीडनमा पर्नुभएको छ । यि सबै किसिमका पीडाहरुलाई क्षतिहरुलाई कतै न कतै सम्बोधन गर्ने रुपमा पीडित राहत कोषले सम्बोधन गर्न प्रयास गरेको छ । जेठको यही ६ गते हामीले पीडित राहत कोषको बैठक बसेर उहाँकै विषयमा एउटा एजेण्डा १ करोड १४ लाखको । अंक ठूलो छ । नेपालको अवस्थामा पीडित राहत कोषमा पैसा कसरी आउँछ भन्नेकुरा पनि म बताउन चाहन्छु । पीडित राहत कोषमा पैसा आउने माध्यम भनेको नेपाल सरकारले कुनैपनि कसुरदारलाई अदालतले अभियुक्त ठहर गरिसकेपछिको जरिबानाको ५० प्रतिशत रकम पीडित राहत कोषमा दिनुपर्छ भन्ने छ । पीडित राहत कोषमा आउने त्यो अंक हामीले पर्याप्त रुपमा आएको जस्तो देखिँदैन । नेपाल सरकारको राजश्वमा जान्छ त्यहाँबाट आउँछ । दोस्रो हामीले कसैलाई क्षतिपूर्ति १५५ अन्तर्गत फौजदारी कार्यविधि संहितको दफा १५५ अनुसार १ वर्षसम्म कैद भएको व्यक्तिलाई कैदमा नबसीकन उसले पैसा तिरेर कैद किन्न पाउने खालको व्यवस्था छ । त्यसबाट उठेको रकमको ५० प्रतिशत त्यहाँ जान्छ । अर्को क्षतिपूर्ति शुल्क भनेका छौँ । त्यो पनि कोषमा आउँछ । हामीसँग जरिबानाको ठ्याक्क आधि पैसा त्यहाँ आएको पैसा प्रयोग गर्ने हो । पीडित राहत कोष हिजोका दिनमा ठूलो थिएन । अहिले बिस्तारै उठाउँदै छौँ । यही आर्थिक वर्षमा करिव ७५ जना भन्दा बढी पीडितहरुले पैसा पाइसक्नुभएको छ । मान्य विन्द्यवासिनी कंशाकारको अलिकति अपवाद छ । उहाँको अंक ठूलो छ । क्षतिपूर्ति एक करोड १४ लाख ८५ हजार पनि उहाँलाई केही पनि होइन । उहाँको खर्च भएको हो त्यति । क्षतिपूर्तिको त कुरै छैन । त्यहाँ अझै ठूलो अंक हुनुपर्छ । राज्यले सायद त्यो निर्धारण गर्दछ र त्यसअनुसार यो कुराहरु हुन सकोस् ।’

उनले राहत कोषमा रकम आउने माध्यम नेपाल सरकारले कुनैपनि कसुरदारलाई अदालतले अभियुक्त ठहर गरिसकेपछिको जरिबानाको ५० प्रतिशत रकम पीडित राहत कोषमा दिनुपर्ने प्रावधानअनुरुप जम्मा हुने बताए । उनले फौजदारी कार्यविधि संहितको दफा १५५ अनुसार १ वर्षसम्म कैद भएको व्यक्तिलाई कैदमा नबसीकन उसले पैसा तिरेर कैद किन्न पाउने खालको व्यवस्था रहेको र त्यसबाट उठेको रकमको ५० प्रतिशत कोषमा जम्मा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *