विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनको गुणस्तरीयतामा प्रश्न

नेपालमा विद्युतीय गाडीको संख्या दिनानुदिन बढिरहेको छ । सरकारले पनि विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने नीति लिएको बारम्बार जनाउँदै आएको छ । तर, विद्युतीय गाडी किनेकाहरु भने चार्जिङ स्टेसनको समस्या भोग्दै आएका छन् ।

हाल सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणका मात्र देशभर ५१ चार्जिङ स्टेसन छन् । यस्तै, निजी चार्जिङ स्टेसनहरुको संख्या पनि बढिरहेको छ । चार्जिङ स्टेसनको संख्या बढे पनि चार्जिङको समस्या भने सवारीधनीले भोग्नुपरेको हो । खासगरी मुख्य स्थानहरुमा रहेका विद्युत् प्राधिकरणका चार्जिङ स्टेसनमा समस्या हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

उदाहरणका लागि मकवानुरको रातेमाटेस्थित जंगल छेउ जुन पूर्वपश्चिम राजमार्गमा पर्छ, त्यहाँ विद्युत् प्राधिकरणको चार्जिङ स्टेसन छ । तर, स्टेसनले काम नगर्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

झण्डै १ करोड लगानीमा निर्माण गरिएको उक्त स्टेसनमा क्युआर कोडले काम गर्ने, वाइफाइ कनेक्सनमा समस्या देखिने, चार्जिङ नोजल बिग्रिएका कारण चार्ज नगरी फर्किनुपर्ने लगायत समस्या रहेको सेवाग्राहीको भनाइ छ ।

उक्त स्टेसनको गुनासो आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले अनुगमनसमेत गरेका छन् । स्टेसनका उल्लिखित समस्याका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको उनले बताए । उनले यसबारे प्राधिकरणको मकवानपुर कार्यालयलाई ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

यस्तै, समस्या पोखराको मालेपाटन, नारायणघाट र मुग्लिनस्थित प्राधिकरणका चार्जिङ स्टेसनमा रहेको प्रयोगकर्ताको भनाइ छ । लामो यात्रामा रहेका विद्युतीय सवारीका धनीले गाडी चार्ज नहुँदा तनाव लिनुपरेको छ ।

विद्युत् प्राधिकरणले गत वर्षको भदौमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालन थालेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले ती चार्जिङ स्टेसनको उद्घाटन गरेका थिए ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका थिए । यी स्टेसनबाट सवारीसाधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको थियो ।

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने जनाइएको थियो ।

प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको थियो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ ।

त्यतिबेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने जनाएका थिए ।

प्राधिकरणले देशभर थप ५ सय वटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको उनले जानकारी दिएका थिए । पछिल्ला गुनासाले भने थप स्टेसनभन्दा गुणस्तरीयतामा प्राधिकरणले ध्यान दिनुपर्ने सेवाग्राहीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *