ट्रम्पलाई सजाय भए जेलबाट पनि चुनाव लड्न सक्छन् ?

डोनाल्ड ट्रम्प कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन् ।

म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको ३४ अपराधमा जेल सजाय हुने सम्भावना कम रहेकोमा अधिकांश विज्ञहरू सहमत छन् । ट्रम्प त्यसविरुद्धमा पुनरावेदन गर्नेछन् र निर्णय यथावत् रहेमा जरिवाना आदि लाग्ने उच्च सम्भावना छ ।

तर जेल परे भने ट्रम्प अझै पनि उम्मेदवार रहन सक्छन् ? जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन ।

युनिभर्सिटी कलेज लन्डनका अमेरिकी इतिहासका प्रोफेसर इभान मोर्गनले भने, ‘उम्मेदवारीका लागि आवश्यक योग्यता भनेको अमेरिकामा जन्मिएको र निश्चित उमेर (३५ वर्षभन्दा माथि) भएको हो । त्यसकारण बाराक ओबामा वास्तवमै अमेरिकी नागरिक हुन् कि होइनन् भन्ने बहस त्यसबेला भएको थियो ।’

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्न १४ वर्षसम्म अमेरिकामा बसेको नियम पनि लागू गरियो ।

यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ ।सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा छैन ।

प्रोफेसर मोर्गन भन्छन्, ‘अमेरिका क्रान्तिबाट जन्मेको थियो र यो सम्भव थियो कि सत्ताविरुद्ध गतिविधिको लागि जेलमा परेका जो कोहीलाई राष्ट्रपतिको उम्मेदवारको लागि अयोग्य ठहराउन सकिन्छ ।’

सन् १७८७ मा अमेरिकी संविधानको मस्यौदा तयार गर्ने सम्मेलनका संस्थापक नेताहरूमध्ये कसैलाई पनि ब्रिटिशहरूले कैद गरेका थिएनन्, यद्यपि जेल पर्न सक्ने सम्भावनाका केही थिए ।

‘यदि क्रान्ति सफल नभएको भए,’ उनी भन्छन्, ‘उनीहरू सत्ताविरुद्ध विद्रोह गरेकोमा दोषी ठहरिने थिए र अपराधी हुने थिए ।’

संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए ।

प्रोफेसर मोर्गन भन्छन्, ‘युजीन वी डेब्स जेलमा हुँदा सन् १९२० मा राष्ट्रपतिका लागि सबैभन्दा महत्वपूर्ण दाबेदार थिए ।’ रेल कम्पनीविरुद्ध हडताल गरेको र रेल अवरुद्ध गरेको आरोपमा उनी जेल परेका थिए ।

उनी पटकपटक राष्ट्रपतिको उम्मेदवार बने पनि विजयी भने हुन सकेनन् । जेलमै रहेका बेला उनको स्वास्थ्य बिग्रियो र १९२६ मा उनको मृत्यु भयो ।

यस्तै, जेलबाट राष्ट्रपतिको उम्मेदवार बन्ने अर्का व्यक्ति थिए, लिन्डन लिरुस । सन् १९७६ देखि २००८ सम्म उनी पटकपटक उम्मेदवार बनेका थिए । तर, राष्ट्रपति बन्न भने सफल भएनन् । १९८९ मा उनलाई धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय भएको थियो । उनको मृत्यु २०१९ भयो ।

अमेरिकामा यसरी जेलबाट राष्ट्रपतिको उम्मेदवार धेरै व्यक्ति बनेका छन् । अब ट्रम्प जेल गए पनि नगए पनि, राष्ट्रपतिको उम्मेदवार बन्न भने पाउने देखिन्छ । अमेरिकी इतिहासमा जेलबाटै राष्ट्रपति चुनाव लड्ने सबैभन्दा महत्वपूर्ण व्यक्ति पनि हुनेछन् ।

न्युयोर्कमा भएको ऐतिहासिक मुद्दामा दोषी ठहरिएपछि पनि ट्रम्पको राष्ट्रपति अभियान जारी रहनेछ ।

अदालतले ट्रम्पलाई २०१६ को चुनावी अभियान अघि पोर्न स्टार स्टर्मी डेनियललाई घूस दिनका लागि व्यापारिक अभिलेख झुटा गरेकोमा दोषी ठहर गरेको छ ।

तर, ट्रम्पले यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र अदालतमा ठगी भएको बताएका छन् । ट्रम्पकी वकिल एलिना हुब्बाले ट्रम्प ‘राजनीतिक र छनौट अभियोगको शिकार भएको’ बताएकी छन् ।

ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइनेछ । अदालतको कारबाहीका क्रममा ट्रम्पसँगै रहेका अधिवक्ता हब्बाले ट्रम्प जेल गए पनि नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी जारी राख्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *