फोहरमा बुद्धका प्राचिन मूर्तिहरु

बुद्ध जन्मस्थल लुम्बिनीका प्राचीन मूर्तिहरू लुम्बिनीभित्रै उपेक्षित अवस्थामा फेला परेका छन् । ती मूर्तिहरू लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वका प्रमाण हुन्, जसले त्यस क्षेत्रको धार्मिक धरोहरको झल्को दिन्छ । लुम्बिनी विकास कोषले खोज्दै जाँदा ती मूर्तिहरू लुम्बिनीको सङ्ग्रहालयभित्र धुलाम्मे अवस्थामा भेटिएका छन् ।

सूचनाको हक सम्बन्धी अभियानकर्ता राम विकास चौधरीले उत्खनन पूर्वको प्राचीन मायादेवी मन्दिरभित्र पूजापाठ हुँदै आएको मूर्तिहरूबारे चासो राख्दै लिखित सूचना माग गरेपछि लुम्बिनी विकास कोषको पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेती सहितको संयुक्त टोलीले सङ्ग्रहालयको स्टोर कोठाबाट ती मूर्तिहरू फेला परेका हुन् ।

सङ्ग्रहालयको स्टोर कोठाबाट प्राचीन मायादेवी मन्दिरमा बुद्ध जन्माङ्कृत महामायाको मूर्तिसँगै रहेको तामाको बुद्ध मूर्ति (करिब ४५सेमी लम्बाइ भएको), र धातुको बुद्ध मूर्ति (५० सेमी लम्बाइ भएको) भेटिएका छन् । त्यसैगरी मन्दिरको बाहिरी भागमा रहेको तारादेवीको मूर्ति र पत्थरको युगल मूर्ति (६२ सेमी लम्बाइ भएको) भेटिएका छन् ।

दुवै हात भाँचिएको र कमलासनमा उभिएको (४९ सेमी लम्बाइको) मार्बलको बुद्ध मूर्ति पनि सङ्ग्रहालयको स्टोर रुमको भुईँमा अन्य बहुमूल्य मूर्तिहरूसँगै लडिरहेको अवस्थामा देखिएको अभियानकर्ता चौधरीले बताए ।

उत्खनन र जीर्णोद्धारका क्रममा गर्भ गृहबाट प्राप्त भई प्राचीन मन्दिरको बाहिरी भागको मूल ढोकामा राखिएको वाराही देवीको मूर्ति दुई टुक्रामा रहेको अवस्थामा सङ्ग्रहालयको भुईँ तलामा फेला परेको छ । लुम्बिनी माताको सवारी बाघको मूर्तिका साथै अन्य अप्रमाणित मूर्तिहरू तथा पत्थरका कलाकृतिहरू फेला परेको जनाइएको छ ।

‘सरोकारवाला निकायको लापरबाहीले धार्मिक तथा पुरातात्त्विक महत्वका मूर्तिहरूमा क्षति पुग्न सक्ने खतरा छ’, अभियानकर्ता चौधरीले भने, ‘मूर्तिहरू दुरावस्थामा छन् । केही टुटे फुटेका छन् भने धेरै मूर्तिहरू अझै फेला परेका छैनन् ।’ संरक्षण अभावमा धार्मिक महत्वका ती मूर्तिहरूको मौलिक स्वरूप बिग्रिँदै गएको चौधरीले बताए ।

उनले भने, ‘लुम्बिनी विकास कोषको अभिलेख अनुसार, धातुको चाँदवी बुद्ध मूर्ति (मणि हर्ष ज्योति किनारामा लेखिएको), गणेशको धातुको मूर्ति (२५ सेमी), दुर्गा भगवतीको धातुको मूर्ति (२५ सेमी) ढलोटको गणेश मूर्ति र भगवती लगायत आधा दर्जन मूर्ति अझै फेला परेका छैनन् । बुद्ध जनमाङ्कृत महामायाको मुख्य मूर्तिबाट माथिल्लो दाहिनेतर्फ देवताहरूले पुष्पवृष्टि गरेको दृश्य हटाइएको अवस्थामा मायादेवी मन्दिरभित्रै टाँगिएको छ ।’

लुम्बिनीको सङ्ग्रहालय स्थित स्टोरमा धुलाम्मे अवस्थामा रहेका र हराइरहेका केही धार्मिक तथा पुरातात्त्विक महत्वका मूर्तिहरू लुम्बिनीमै पुनर्स्थापित हुनुपर्नेमा चौधरीले जोड दिए । उनले भने, ‘ती मूर्तिहरू लुम्बिनीका धरोहर र धार्मिक आस्थाका प्रतीक हुन । लुम्बिनीमै त्यसको पुनर्स्थापना गरी संसार सामु चिनाउन जरुरी छ ।’

लुम्बिनी विकास कोष र पुरातत्त्व महाशाखाको लापरबाहीले प्राचीन मूर्तिहरूको संरक्षण कार्य प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको मायादेवी मन्दिरका निवर्तमान मुख्य पुजारी योगेन्द्रनाथ पाण्डेले बताए । उनले भने, ‘लुम्बिनीका धेरै ऐतिहासिक मूर्तिहरू अझै पनि हराइरहेका छन् ।” मन्दिरको नासो मन्दिरमै स्थापित हुनुपर्ने उनको माग छ ।’

उत्खननका समयदेखि लुम्बिनीबाट हराइरहेका प्राचीन मूर्तिहरूलाई खोजी सुचीमा राखेर फेला परेका मूर्तिहरूको संरक्षण र प्रवर्धनका लागि योजना बनाइ व्यवस्थित गर्नुपर्ने अभियानकर्ता मेघनाथ आचार्यले बताए ।

त्यसैसरि लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले भने, ‘लुम्बिनीका धार्मिक धरोहरहरूको नियमित अनुगमन, मर्मत–सम्भार, र सुरक्षाका उपाय आवश्यक छ ।’ स्थानीयको सहयोग र साझेदारीमा लुम्बिनीको धार्मिक तथा सांस्कृतिक धरोहरहरूको सुरक्षा र संरक्षण कार्यलाई प्रभावकारी बनाउन सकिनेमा उनले जोड दिए ।

‘लुम्बिनीका धार्मिक तथा पुरातात्त्विक महत्वका मूर्तिहरू नेपालको सांस्कृतिक धरोहरका अभिन्न अङ्ग हुन् । यिनको उचित संरक्षण गर्न नसक्ने हो भने भविष्यमा अमूल्य सम्पदा गुम्ने खतरा हुन्छ’, लुम्बिनी विकास कोष पुरातत्त्व महाशाखाका प्रमुख हिमाल उप्रेतीले भने, ‘सम्पदा जोगाउन सबै पक्ष मिलेर तत्परता देखाउनु जरुरी छ ।’

लुम्बिनी विकास कोषले समस्या समाधान गर्न प्रयासरत रहेको बताएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई ले भने, ‘मूर्ति व्यवस्थापनको लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न हामी प्रयास गरिरहेका छौँ । त्यस कार्यमा अवरोधहरू छन् तर हामी ती सबैलाई समाधान गर्दै मूर्तिको उचित व्यवस्थापन गर्ने प्रतिबद्धतामा छौँ ।’

समाचार र तस्विर श्रोतः आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर