विदेश पठाइदिने आश्वासनमा ३ सय जनाबाट १५ करोड ठगी

अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड र फ्रान्स पठाइदिन्छु भन्दै ३ सय जनाभन्दा बढीबाट करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो ।

उनीहरुले तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स लगायत देशहरुमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छे गाउँपालिकाका २२ वर्षे नविन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्त छन् ।

अमेरिका पठाइनदिने भन्दै ठगी गर्ने सोलुखुम्बु घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको एसएसपी भट्टराइले जानकारी दिए । उनीहरुले ३/४ वर्षयता प्रतिव्यक्ति ५ देखि १० लाखका दरले रकम उठाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर वैदेशिक रोजगारीका लागि विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ ।

पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराई फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर