भरत ताल निर्माणमा अनियमितताको आरोपमा मेयर थापाविरुद्ध अर्को मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भरत ताल निर्माणमा अनियमितता गरेको आरोपमा थापासहित ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उपमेयर लीलाकुमार मोक्तान, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्द मुद्दा दायर गरेको हो ।

मेयर थापाले बागमती–४ र १२ आफ्नो नाममा कृत्रिम ताल निर्माण गरेका थिए । ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले मेयरसहित नगरपालिकाका ५ जनाविरुद्ध उक्त रकमबराबर बिगो, जरिवाना र कैद सजाय माग गरेको छ । चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको छ ।

यसअघि चैत २८ मा पनि अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *