नेपाली पक्षको माग अनुसार महाकाली नदीमा विवाद भएका ठाँउमा भारतले तटबन्ध नबनाउने

महाकाली नदीमा भारतले तटबन्ध बनाएको विषय स्थानीय तहबाटै समाधान भएको छ । यस्तै नेपाल र भारतका स्थानीय प्रशासन प्रमुखहरुको छलफलबीचमा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ।

भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो । यो विषयमा भारतीय पक्षलाई आइपर्ने समस्याको जानकारी गराएपछि उसले विवाद भएका स्थानमा तत्काल काम रोक्ने जानकारी नेपाली पक्षलाई गराएको थियो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए।

यस्तै भारतीय पक्षलाई लक्षितगरि सशस्त्र प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको विषयमा भने भारतले असन्तुष्टि पोखेको थियो । उसले प्रशासनलाई ढुंगा हान्ने समूहको पहिचान गरेर कारबाही गर्न तथा अफवाह र हल्लामा विश्वास नगर्न समेत आग्रह गरेको बैठकमा सहभागी एक अधिकारीले पर्दाफासलाई बताए ।

सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेको हल्लापछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

छलफलमा दार्चुलाका प्रजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरेका थिए।

छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए।

भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो।

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए। उसले समेत यो आग्रहलाई सकारात्मक रुपमा लिएको थियो ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए। स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन्।

स्थानीय तहबाटै समस्या समाधानको बाटोमा अघि बढीसकेपछि पनि केन्द्रमा यही विषयलाई लिएर सरकार र सत्ता गठबन्धनको चर्को अलोचना भएपछि उसले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रका एक अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ । तर, नोट पठाउनुअघि नै दार्चुला प्रशासनले समस्या र विवाद समाधान भएको जानकारी केन्द्रमा गराएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *