चीन दीर्घकालीन खतरा, प्रधानमन्त्री बने बेलायतस्थित इन्स्टिच्युट बन्द गराउँछु: सुनक

चीन बेलायतका लागि सबैभन्दा ठूलो खतरा भएको भन्दै बेलायतको प्रधानमन्त्री हुने दौडमा अग्रस्थानमा रहेका ऋषि सुनकले आफ्नो प्रतिद्वन्द्वी लिज ट्रसको चर्को आलोचना गरेका छन् ।

सुनकले लिज ट्रसमाथि चीनलाई सहयोग गरेको आरोप लगाएका छन् र आफू प्रधानमन्त्री बने पहिलो दिनदेखिनै चीनविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

सुनकले लिज ट्रसले बेलायती विश्वविद्यालयमा चिनिया घुसपैठलाई सहज बनाउने काम गरेको आरोप लगाएका छन् ।

आफ्नो विदेश नीति सार्वजनिक गर्दै सुनकले चीन र चिनियाँ कम्युनिष्ट पार्टी बेलायतका लागि दीर्घकालका लागि सबैभन्दा ठूलो खतरा हुने बताए ।

चीनप्रति कडा रुपमा प्रस्तुत हुँदै सुनकले उनी प्रधानमन्त्री बने कम्युनिष्टसँग जोडिएको सबै इन्स्टिच्युट बन्द गर्ने बताएका छन् ।

त्यस्ता इन्स्टिच्युटहरुले बेलायतका विश्वविद्यालय र स्कुलमा चिनियाँ भाषा पढाउँछन् ।

सुनकको टिमले बेलायतमा रहेका चीनसँग सम्बन्धित ३१ संस्थाहरु मध्ये ९ वटा ट्रस शिक्षामन्त्री २०१२ देखि २०१४ सम्मको समयमा खुलेको विषयलाई जोडतोडका साथ उठाउँदै आएका छन् ।

सुनकले चीनको चुनौती सामना गर्न नेटो जस्तै सैनिक गठबन्धन बनाउनु पर्ने वताएका छन् । ‘अब अति भैसक्यो । लामो समयदेखि बेलायत र पुरै पश्चिमा नेताहरुले रेड कार्पेट बिच्छाउँदै चीनको अपवित्र काम र महत्वकाक्षालाई आँखा चिम्लदै आयौं’ सुनकले भनेका छन् ।

जबकी हालकी विदेशमन्त्री रहेको लिज ट्रसको टिमले सुनकमाथि प्रत्याक्रमण गरेको छ र उनले वर्षाैदेखि चीनप्रति नरम व्यवहार अपनाउँदै आएको आरोप लगाएको छ ।

ट्रसको टिमले प्रधानमन्त्री पदका लागि सुनकको दावेदारीलाई चीनको सरकारी सञ्चार माध्यमबाट पनि समर्थन प्राप्त भएको जनाएको छ ।

यसअघि दुवै नेताहरु कर तथा आप्रवासीक विषयमा आमनेसामने भैसकेका थिए । चीनको विषयमा सुनकविरुद्ध ट्रसले यसअघि पनि प्रश्न तेर्‍याउँदै आएकी थिइन् ।

कन्जरभेटिभ सांसदबीच अन्तिम पाँच प्रति प्रतिद्वन्द्वीबीच बहस जारी रहेको समयमा ट्रसले सुनक चीनसँग बढीभन्दा बढी व्यापार गर्ने पक्षमा रहेको बताएकी थिइन् ।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जुलाई १४ मा एक समाचार प्रकाशित गर्दै लेखेको थियो ,  ‘बेलायतमा नयाँ प्रधानमन्त्रीको रुपमा जो आएपनि नीतिमा त्यति ठूलो परिवर्तन हुने छैन र दुवै पक्ष सम्बन्ध सुधार्न समक्ष हुने आशा लिएको छौं।’

ट्रसका समर्थकहरुले त्यही समाचारमा दुई वर्ष बेलायतको अर्थमन्त्री रहेका सुनक चीनसँग आर्थिक सम्झौता बढाउनेमा जोड दिएको भनेर लेखेको विषयमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *