सहर झरेर कृषि उद्यम

रमेश श्रेष्ठ विदेशको रहरले आठ वर्षअघि दोलखाको मेलुङबाट काठमाडौँ झरेका थिए । उमेर छँदै कमाउने सोचले पहिलो पटक घर छोडेका उनी महिनौँसम्म म्यानपावर कम्पनी धाए । विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोडे । पोखरामा उनका दाइ देव पहिलेदेखि नै रेष्टुराँ चलाउँथे । दाइकै सल्लाहमा श्रेष्ठ पनि २०७२ सालको हिउँदतिर पोखरा आए । दाइभाइ मिलेर नयाँ व्यवसायको योजना बुने ।

‘विदेशको काम नबनेपछि दाइले पोखरा बोलाउनु भयो, पोखरामा व्यावसायिक तरकारी खेतीको सम्भावना देखेपछि दाइभाइ मिलेर कृषि फार्म सुरु गर्‍यौँ’, ३८ वर्षीय श्रेष्ठले भने, ‘अहिले २४ रोपनी जग्गामा तरकारी खेती गरेका छौँ ।’ सुरुमा चाउथेमा छ रोपनी जग्गाबाट सुरु गरेको ‘श्रेष्ठ कृषि फार्म’ अहिले पोखरा महानगरपालिका–२६ आशीर्वाद मार्गसम्म विस्तार भएको छ । ‘पहिलो वर्ष इलामबाट बाँस ल्याएर १८ टनेलमा तरकारी खेती सुरु गरियो’, श्रेष्ठले भने, ‘त्यतिबेला चाउथेमा कृषि फार्म हाम्रो मात्र थियो, अहिले जस्तो बस्ती विस्तार भइसकेको थिएन, हामीले टनेल राख्दा खेतै ढाकिए जस्तो देखिएको थियो ।’

प्रतिरोपनी वार्षिक २१ हजार रूपैयाँ तिर्ने गरी जग्गामा भाडा ल्याएर कृषि फार्म चलाइएको श्रेष्ठले बताए । पछि उनका दाइ देव कृषि पेसाबाट हात झिकेर पुरानो रेष्टुराँ व्यवसायमै केन्द्रित भए । यता श्रेष्ठले कृषि फार्म एक्लै हाँक्न थाले । तीन वर्षयता फार्मको सबै जिम्मेवारी उनकै काँधमा छ । ‘दुवै ठाउँमा गरेर २४ रोपनी जग्गामा तरकारी खेती लगाएका छौँ, गत हिउँदमा मात्रै झण्डै नौ लाखको काँक्रा बेचेँ’, उनले भने, ‘फार्ममा मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ ।’ फार्मबाट वार्षिक ३० लाख रूपैयाँजतिको कारोबार हुन्छ ।

‘वर्षको १२-१५ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, सीप जानेको र मेहनत गर्न सक्नेले कृषिबाटै भविष्य बनाउन सक्छन्’, श्रेष्ठले भने, ‘हामी पनि बाहिरबाट आएर पोखरामा सङ्घर्ष गरिरहेका छौँ, सफलतामा पुग्न त अझै बाँकी नै छ ।’ कृषि उपार्जनका लागि पोखरा उब्जाउ क्षेत्र भएको थाहा पाएपछि दाइको साथ लाएर कृषिमा होमिएको उनले बताए । ‘घरबाट विदेश जान भनेर निस्केको थिएँ, तर कर्मले यता डोर्‍यायो, आज म यसैमा खुसी र सन्तुष्ट छु’, श्रेष्ठले भने ।

फार्ममा दुई जनाले रोजगारी पाएका छन् । कृषि व्यवसायमा उनलाई श्रीमती सुनिताको दरिलो साथ छ । छोरा सागर र छोरी रक्षा विद्यालय पढ्दैछन् । कृषिप्रतिको लगाव र प्रतिफल देखेर उनको कृषि फार्मलाई पोखरा महानगरले गत महिना ६२ हजार प्रोत्साहन रकम दिएको थियो । त्यसअघि उनले महानगरबाटै प्लास्टिक पोखरी र मिनिटिलर हलो अनुदानमा पाएका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाबाट एक रोपनी क्षेत्रफलमा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ निर्माणका लागि १६ लाख रूपैयाँ अनुदान पाएको श्रेष्ठले बताए । यसैगरी ‘श्रेष्ठ कृषि फार्म’ सँगै जोडिएको छ ‘एस्कोल कृषि फार्म’ । सो फार्म बागलुङको पाण्डवखानीका कर्ण पुनले सञ्चालन गरेका हुन् । चौध वर्षअघि पोखरा झरेका उनी पनि कृषिबाट चिनिएका पात्र हुन् । पुनले १७ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

पुनले कृषि फार्म खोलेको भर्खर दुई वर्ष बितेको छ । त्यसअघि रिठ्ठेपानीमा चार वर्ष तरकारी खेती र केही वर्ष रामबजारमा किराना पसल चलाएको अनुभव पुनसँग छ । कोभिड–१९ महामारीमा अन्य व्यवसाय खुम्चिएपछि पुनः कृषितिरै फर्किएको उनले सुनाए । ‘२२ टनेलमा तरकारी खेती छ, अहिलेसम्म झण्डै २० लाख रूपैयाँजति लगानी भइसकेको छ, यस वर्ष ३० लाख रूपैयाँको कारोबार गर्ने र १५ लाख रूपैयाँ बचाउने लक्ष्य छ’, पुनले भने । उनको फार्ममा मुख्य गरी साग, काँक्रो, गोलभेँडा, घिरौँला लगायतको खेती हुन्छ । हिउँदमा बन्दा र काउली पनि लगाउने गरेको पुनले बताए ।

गत वर्ष तरकारी बेचेर रु सात लाख कमाएको उनले बताए । उत्पादन गर्न सकेमा बेच्न समस्या नरहेको भन्दै पुनले पोखरामा सञ्चालित तरकारी बजारबाट सहज रुपमा कृषि उपज बिक्री हुँदै आएको बताए । ‘कृषि बजार व्यवस्थापन समितिले पनि किसानलाई राम्रो सुविधा दिएको छ, बजार व्यवस्थापन पनि चुस्त छ’, उनले भने, ‘उत्पादन भएको तरकारी कहाँ बेचौँ भन्नुपर्ने अवस्था छैन ।’

चार वर्ष कोरिया बसेर २४ वर्षअघि घर फर्किएका पुनले केही वर्ष बागलुङ सदरमुकाममा होटल व्यवसाय पनि गरेका थिए । होटल व्यवसाय खस्कँदै गएपछि सपरिवार पोखरा झरेर कृषिमा सङ्घर्ष सुरु गरेको उनले बताए । ‘कृषिमा मेरो पहिलेदेखिकै रुचि थियो, पोखरामा खाली जग्गा पाएपछि व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेँ’, पुनले भने, ‘भने जति जग्गा र लगानीको जोहो हुन सके तरकारी खेतीलाई अझै विस्तार गर्ने सोचमा छु ।’

बेमौसमी तरकारी खेती विस्तारमा गत महिना उनले पोखरा महानगरबाट एक लाख ५१ हजार प्रोत्साहन रकम पाएका थिए । महानगरबाट असिना छेक्ने जाली, कास्कीस्थित कृषि ज्ञान केन्द्रबाट टनेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मिनिटिलर हलोमा अनुदान पाएको पुनले सुनाए ।

‘सानोतिनो अनुदान दिनुभन्दा वास्तविक किसान पहिचान गरेर राज्यले बिनाधितो ऋण दिने सुविधा ल्याउन सके किसानलाई ठूलो फाइदा पुग्ने थियो’, ५६ वर्षीय पुनले भने, ‘राम्रो नीति र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिबाटै देशले काँचुली फेर्न सक्छ, यसतर्फ राज्यको ध्यान जानुपर्छ ।’

पुन पनि सपरिवार पोखरामै बस्छन् । श्रीमती कुन्दरासहित उनी आफै पनि दैनिक फार्मको काममा खटिन्छन् । छोरी सविना स्नातकोत्तर र छोरा जीवन स्नातक तहमा अध्ययनरत छन् । छोराछोरीको पढाइदेखि घरव्यवहार फार्मकै आम्दानीबाट धानिने गरेको छ । कृषिबाट कमाएको पैसाले पोखरामा घडेरी समेत जोडेका छन् । लगानी जुटाउन सके पाँच-सात जनालाई रोजगारी दिने गरी तरकारी खेती विस्तार गर्ने योजना उनको छ । पुनको फार्ममा एक जना श्रमिकले नियमित रोजगारी पाएका छन् भने आवश्यकताअनुसार ज्यालादारीमा पनि कामदार खटिने गर्छन् ।

दोलखाका श्रेष्ठ र बागलुङका पुनलाई जोड्ने सेतु नै कृषि बनेको छ । गाह्रोसाह्रोमा दुवैले एकापसमा सघाउँछन् । कृषिका ज्ञान र अनुभव साँट्छन् । पोखरा महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले श्रेष्ठ र पुनले तरकारी खेतीमा नमूनायोग्य काम गरेको बताए ।

‘बाहिरी जिल्लाबाट पोखरा आएर अर्कैको जग्गामा ठूलो लगानी र श्रम खर्चनु भएको छ, मेहनत गरे कृषिमा अवसर छ भन्ने उदाहरुण पनि हो यो, स्वदेशमै केही गर्नुपर्छ भन्ने युवाका लागि उहाँहरु प्रेरणा बन्नुभएको छ’, कडरियाले भने, ‘उहाँहरु जस्ता व्यावसायिक किसानको हित र उत्थानका लागि महानगर सधैँ साथमा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर