करोडौं खर्चेर बनाएका १६ वटा विमानस्थल बन्द

करोडौं बजेट खर्चेर विमानस्थल बनाउने तर प्रयोगमा ल्याउन नसक्ने जुन पुरानो ‘रोग’ छ त्यसले राज्यलाई व्ययभार थपिरहेको छ। त्यसमाथि विमानस्थल निर्माणपछि कसरी सञ्चालन गर्ने भनेर व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा राज्यकोषको अर्बौं रकम खेर गइरहेको छ।

मुलुकभर रहेका ५४ विमानस्थलमध्ये १६ वटा बन्द छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको यो तथ्यांकअनुसार ३८ वटा मात्र सञ्चालनमा छन्। यीमध्ये तीनवटा अन्तर्राष्ट्रिय छन् भने बाँकी आन्तरिक। तर, सञ्चालनमा रहेका भनिएका धेरै विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन। कतिपय त गौचरणमा परिणत भइसकेका छन्। यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रस्तावित मात्र छ। जसको निर्माण नै सुरु हुन सकेको छैन।

विज्ञका अनुसार पहिला ५ देखि ७ करोड बजेटमा बन्ने आन्तरिक विमानस्थल अहिले ४–५ अर्बमा पनि बन्दैनन्। निर्माण खर्चिलो त छँदै छ, सञ्चालन खर्च धेरै छ। त्यसकारण विमानस्थल बनाएर यत्तिकै छोड्न नमिल्ने बताउँछन् प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम। उनका अनुसार यसको जिम्मेवारी लिन जरुरी छ। तर, त्यसका लागि राज्यले दिनुपर्ने सुविधामा भने सहजीकरण गर्नुपर्ने गौतमको भनाइ छ।

कुल विमानस्थलमध्ये करिब ४८ वटा उडान र सञ्चालन योग्य रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ सिटौला बताउँछन्। बाँकी सातवटा पहिला सञ्चालन भएका तर वर्षौंदेखि बन्द रहेका उनको भनाइ छ। जसमा जिरी, स्याङबोचे, कमलबजार, ढोरपाटन, पालुङटार, टीकापुर, महेन्द्रनगर विमानस्थल छन्। यी विमानस्थलमा पहिला साना जहाज जाने गरेकामा अहिले ती जहाज नै छैनन्। ‘ती विमानस्थलमा प्राधिकरणको खर्च पनि छैन। किनभने, कर्मचारी नै छैनन्’, सिटौला भन्छन्।

तराईका विमानस्थल (ट्रंक रुट) र पहाडी तथा हिमाली भेगका विमानस्थल (स्टल रुट) केही सञ्चालन नाफामा रहेको प्राधिकरणको तथ्यांक छ। लुक्ला, जोमसोम, जुम्ला र सिमिकोट नाफामा छन्। बाँकी स्टल रुटका घाटामा छन्। सहरी र तराई रुटका नाफामा भए पनि पहाडी र स्टल रुटका भने घाटामा देखिन्छन्। सञ्चालनमा रहेर पनि घाटा रहेकामा तुम्लिङटार, बझाङ, भोजपुर, दाङ, डोल्पा, खानीडाँडा, फाप्लु, रामेछाप, रुम्जाटार, ताप्लेजुङ, थामखर्क, डोटी, बैतडी, इलामलगायत छन्।

राज्यले नाफा कमाउन मात्र विमानस्थल बनाउने नभई दायित्व पनि निर्वाह गर्नुपर्ने तर्क प्राधिकरणका अधिकारीको छ। सबै विमानस्थलबाट नाफा हुनै पर्छ भन्ने नभई नाफा भएकाहरूबाट घाटामा गएकाको दायित्व पूर्ति गर्ने हो भन्ने भनाइ प्रवक्ता सिटौलाको छ। सबैभन्दा बढी कमाउनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ। अन्यको दायित्वसँगै प्राधिकरण यसको कमाइबाट चल्ने गरेको सिटौला सुनाउँछन्।

पूर्वबाट पश्चिमको हवाई यातायात दूरी डेढ घन्टा पनि छैन। ठूला विमानस्थल बनाउन सक्ने भौगोलिक बनावट पनि छैन। साना जहाज मात्र चल्ने ठाउँमा विमानस्थलको संख्या बढी नै छ। तराईमा ४० नटिकल माइल (१ नटिकल माइलमा १.८५ किलोमिटर हुन्छ) मा र पहाडमा २० नटिकल माइलभित्र दुई विमानस्थल हुन नहुने जानकार बताउँछन्। तर, उक्त मापदण्डको परिपालना पहिलादेखि नै भएको छैन। विज्ञ भन्छन्, ‘राज्यको आवश्यकता के हो र कति विमानस्थल चाहिन्छन् भन्ने अध्ययनको कमी छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *