अपडेट : विद्यालय जान्छु भनेर हिँडेका बुटवलका तीन बालक मुम्बईमा भेटिए

बुटवलमा विद्यालय जान भनेर हिँडेका तीन जना बालक मुम्बईमा भेटिएका छन्। शुक्रबार विद्यालय हिँडेका उनीहरू मुम्बईमा आफन्तकोमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।

बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगरका १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबार विद्यालय जान भनेर हिँडेकोमा सोही दिनदेखि सम्पर्कविहीन बनेका थिए।

परिवारसँगको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

‘बेपत्ता भनिएका तीन बालकमध्ये समीर लम्सालका बुबा मुम्बईमा होटल व्यवसाय गर्नुहुँदो रहेछ,’ डीएसपी केसीले पर्दाफाससँग भने, ‘तीनै जना बालक त्यहीँ पुगेका रहेछन् र उनीहरू सुरक्षित छन्। उनीहरूलाई परिवारसँगको समन्वयमा नेपाल ल्याउन पहल भइरहेको छ।’

तीन बालकमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए।

उनीहरू मुम्बई कसरी र किन पुगे भन्नेबारे थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *