नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी मानवीय सहायता सामग्री

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालैको बाढी–पहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाजमार्फत पाकिस्तानको कराँची शहर पठाइएको हो ।

विपद्मा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताए ।

यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ । ‘हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो,’ उनले भने ।

नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा परराष्ट्रमन्त्री डा. खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए ।

राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो । टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी थिए ।

पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन् । ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताए ।

पाकिस्तानमा हालै आएको मनसुनी वर्षापछिको विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएकामा उक्त बाढीले पु¥याएको क्षतिप्रति समवेदना प्रकट गर्दै नेपाल सरकारकोतर्फबाट पाकिस्तान सरकार तथा जनतालाई सहायतास्वरूप यही भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

नेपाल एयरलाइन्सको उडान नं. २१७१ जहाजले काठमाडौं–कराँची उडान भरी साँझ कराँचीबाट काठमाडौँ फर्कने उडान तालिका रहेको छ । राहत सामग्री बोकेको जहाज केहीबेरअघि कराँची प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

मित्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै दुईदेशबीच घनिष्ट सम्बन्ध रहँदै आएको छ । दुवै मुलुकका बीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एकआपसमा सहयोग गर्ने परम्परा रहेको छ ।

नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद एक करोड रुपैयाँ सहयोग गरेको थियो । पाकिस्तानले पनि वि.सं. २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वरूप नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर