हिपहपलाई नयाँ परिभाषा दिने यात्रामा ‘र बार्ज’

सन् १९७० को दशकमा अमेरिकाको न्यूयोर्क सिटी स्थित साउथ ब्रोन्सबाट ‘आर्ट मुभमेन्ट’का रुपमा सुरु भएको हिपहप संस्कृतिले अहिले नेपाली युवापुस्तालाई गज्जबले आकर्षित गरेको छ ।

त्यसबेला गोरा र काला जातीबीच ग्याङ्फाईट हुन्थ्यो । कति मर्थे, कति रक्ताम्य हुन्थे । यस्ता घटना बढ्न थालेपछि केही युवाहरूले भौतिक होईन मौखिक र कलात्मक लडाई लड्ने सृजनशील जुक्ति निकाले ।

त्यसरी शब्द र हाउभाउका माध्यमबाट ‘ब्याटल’ हुन थाल्यो । गरिब कालाजाती अरुले दिएका साईज नमिलेका लुगा लगाउँथे । पछि त्यहि फेशनका रुपमा आयो । त्यसपछि यो विश्वभर फैलिन थाल्यो ।

नेपालमा दुई दशकअघि र्‍यापका रुपमा हिपहप भित्रिएको थियो । सुरुमा गिरिश खतिवडाले ‘मिनिङलेस र्‍याप’ एल्बम निकालेपछि नेपालमा हिपहपको चर्चा हुन थाल्यो । उनले प्रनिल एल तिमिल्सिनासँग मिलेर गाएको ‘म यस्तो छु’ गीतबाट नेपाली संगीतमा र्‍याप चिनिन थाल्यो । त्यसपछि रतन सुवेदीले प्यारोडी र्‍याप गाए । निर्णय श्रेष्ठ (निर्णय दा एनएसके) ले ‘म नेपाली’, ‘गाउँले जीवन’, ‘तिमी केटाकेटी जस्तो देखेको’ लगायतका गीत र्‍यापमा गाएपछि नेपालीमाझ हिपहप अझै फैलिंदै गयो । नेप्सेडाईज ब्यान्डका मानस घलेले पनि यसलाई निरन्तरता दिए ।

पुराना कलाकारहरु कोही विदेश पलायन भए । कोही जिवकोपार्जनका लागि हिपहपलाई शौख बनाएर आफ्नो व्यवसायमा रमाउन थाले । त्यही समयकै आसपास कोलिन विक्रम राणाले हिपहिप संगितलाई निरन्तरता दिए । उनलाई यम बुद्धले एउटा सहयोग गरे । त्यो थियो ‘र बार्ज’ । यो नाम कोलिन र यमले मिलेर जुराए । अनि नेपालमा पनि व्यवसायिक र ठुलो स्तरमा घरका कोठा चौटा, टोलका गली र साना क्लबहरुमा गुञ्जिरहेको हिपहपलाई ब्याटल मार्फत अघि बढन सहयोग गर्न थाले ।

‘र बर्जले चारवटा सिजन सफलता पूर्वक सम्पन्न गरेको थियो,’ पर्दाफाससँगको कुराकानीमा कोलिनले भने, ‘केही सिजनमा प्राविधिक कारणले हामीले अपेक्षित सफलता पाउन सकेका थिएनौं ।’

त्यतीबेला नै र बर्जले अमेरिका, बेलायत र अष्ट्रेलिया तथा भारतमा प्रभाव जमाएकाे थियाे ।

यतिबेला र बार्जले पाँचौं सिजन चलाइरहेको छ । जसलाई रिंन्क इन्टरटेन्मेन्टले साथ दिएको छ । देशका सात प्रमुख शहरका कुनाकुनामा रहेका १५ सय बढी हिपहप गायकहरु छनौट गरेर आज (आइतबार, २७ बैशाख २०७८) देखि उनीबीच ब्याटल सुरु हुँदैछ । यस्तै यही सिजनमा ३ हजार बढी कलाकारले अनलाइन मार्फत सहभागिता जनाए ।

‘हामीले देशभरबाट पाएको साथ, सहयोग र हौसलाले हिपहपप्रति नेपाली समुदायको चासो र रुची अभिब्यक्त भएको छ,’ र बर्ज र रिंन्क इन्टरटेन्मेन्टका अध्यक्ष प्रविस रायमाझी भन्छन्, ‘यो सिजनले नेपालको हिपहप इतिहासमा नयाँ अध्याय बनाउनेमा हामी उत्साही छौं ।’

अध्यक्ष रायमाझीले यो कलालाई रहर बनाउने तर जिवकोपार्जनको माध्यम बनाउन नसकेका युवाहरुका लागि आफुहरुले योजना बनाएको बताए । उनले योजनाको बिस्तृत स्वरुप पाँचौ सिजनको अन्तिमसम्मका सार्वजनिक हुने बताए ।

नेपालमा हिपहप भनेको र्‍याप मात्र बुझिन्थ्यो । तर विस्तारै हिपहप अन्य तत्वहरू डिजेईङ, ग्राफिटी आर्ट र ब्रेक डान्सिङ भित्रिए । विभिन्न संगीतिका धुनहरू मिसाएर बजाईने डिजेइङ नेपाली नाईटक्लबहरूमा जमिरहेकाे छ । सहरका भित्ताहरूमा स्प्रे वा मार्कर पेनले पेन्टिङ गरिने ग्राफिटी आर्टपनि देखिन्छन् । पछिल्लो समय ब्रेक डान्सिङ अन्तर्गतका बि बोईङ, बि गर्लिङ, लकिङ, पपिङ डान्समा युवापुस्ता झुम्मिएका छन् ।

यतिबेला देशका स्थापित र मुलधारका टेलिभिजनमा हिपहपका ब्याटलले स्थान पाइरहेका छन् । यो सांगितिक विधामा बढ्दो आर्कषणसँगै यसलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउन थालेको छ । तर, त्यो अझै पूर्ण रुपमा परिवर्तन भएको छैन् ।

नेपाली समाजले हिपहप गायक र कलाकारको पोशाक, उनीहरुको रहनसहन र व्यवहारलाई आलोचना तथा हेलाकाे दृष्टिले हेरिरहेका हुन्छन् ।

‘उसको पोशाकलाई होइन कलालाई हेर्ने र बुझ्ने प्रयास समाजले गर्नुपर्छ,’ अध्यक्ष रायमाझीले पर्दाफाससँग भने, ‘यदी यो पेशा र व्यवसायिक हुन सके त्यसले निश्चय नै दृष्टिकोण परिवर्तनमा मद्दत्त गर्छ । हामी एउटा हिपहप कलाकारले त्यहीबाट घर बनावस, गाडी चढोस र मासिक राम्रो आम्दानी गर्न सकोस भन्ने यात्रामा अघि बढिरहेका छौं ।’

हिपहप र र्‍याप कलाकारहरु विगतका केही घटनाका कारण बदनाम भएका छन् । उनीहरु लागूऔषधको दुर्व्यसनी हुने आम बुझाइ छ । तर अध्यक्ष रायमाझी यसलाई गलत मान्छन् । केहीले गरेको कसुरलाई आम बनाउनु अन्यका लागि अन्याय हुने उनको धारणा छ । अझ उनी त, यो कलालाई लागूऔषध ओसापसार, उत्पादन र सेवन रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी माध्यम हुनसक्ने बताउछन् ।

‘हिपहप कलाकार र उसको संगितमा युवा पुस्ताको ठुलो लगाव छ, ‘ अध्यक्ष रायमाझीले पर्दाफाससँग भने, ‘यही कलाकारलाई हामी एन्टि ड्रग क्याम्पियनमा साझेदार बनाएर अघि बढाउने योजनामा छौं । यसबाहेक राजनीतिक, धार्मिक, सांस्कृतिक र आर्थिक विभेद तथा कुरिती बिरुद्ध समेत उनीहरु सशक्त रुपमा अघि बढनेछन् ।’

र बर्ज सन २००९ को आसपास जन्मिएको थियो । यसले गरेका चार सिजनबाटै हालका स्थापित कलाकारहरु जन्मिएका छन् । तर यी चार सिजन कोलिनले भनेजस्तै सुखद हुन सकेनन् । यतिबेला त्यही समयमा केही झिनामसिना बिषयलाई लिएर यसको बढ्दो यात्रालाई बाधा बनाउन केही तत्वहरु सक्रिय भएका छन् ।

अध्यक्ष रायमाझीले आफुहरु विगतका सिजनका बिषयमा कोही कसैलाई केही गुनासो भए सिधै सम्पर्कमा आउन आग्रह गर्दछन् । उनले हल्लाको पछि नलागी आफुहरुको सम्पर्कमा आउन भने ।

‘हामी समूहगत विकासमा विश्वासगर्ने संस्था हौं, ब्यक्ति र संस्थाहरुबाटै हामी हिपहप समुदाय निर्माण र त्यसको विकास गर्न सक्छौं, ‘ अध्यक्ष रायमाझीले भने, ‘विगतका बिषयमा कोही कसैलाई केही गुनासो छ भने हामीलाई सम्पर्क गर्नुहोस, हामी मिलेर त्यसको समाधान गछौं, हिपहपलाई व्यवसायिक र सम्मानित बनाउन यहाँहरुको सहयोग अति आवश्यक छ, आउनुहोस मिलेर अघि बढौं । ‘

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर