साउदी अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउन नसक्नु ठूलो चुनौतीः मन्त्री कुवँर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् । बिहिबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।

उनले अहिले साउदी अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताए । उनले अवैधानिक रूपमा अरब काम गर्न गएका र त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरेका हुन् ।

मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए । मन्त्री कँुवरले विदेशमा मुत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनुसरकार र एनआरएन दुवैको दायित्व भएको बताए ।

मन्त्री कुँवरले नेपाली श्रमीकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्न सके एकमुष्ट रेमिट्यान्स नेपाल आउने बताए । उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरूसँग समन्वय गर्न सरकार तयार रहेको पनि बताए । उनले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताए । मन्त्री कुँवरले हुण्डी तथा चोर बाटोबाट आउने रेमिट्यान्स नियन्त्रण गर्न सके रेमिट्यान्स बढ्न सक्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबैभन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको बताए । उनले वैदेशिक रोजगारीले जिडिपीमा ५७ प्रतिशत योगदान भने पनि चाहेजति व्यवस्थित बनाउन नसकेको बताए ।

सचिव अर्यालले अहिले सरकारले देशभित्र वा बाहिरका रोजगारदाता र श्रमिक खोज्ने अनलाइन सिस्टम बनाउन लागेको बताए । उनले नेपाली श्रमिकले विदेशमा काम गर्न जाने कम्पनीको बारेमा, आफूले पाउने तलब र कामको लागि गरिएको सम्झौता देख्न पाउनुपर्ने बताए ।

सचिव अर्यालले अब नेपाली श्रमीकले नेपालबाट एउटा कामको लागि सम्झौता गरेर विदेश जाने, विदेश पुगेर अर्को काम गर्नुपर्ने स्थितिको सरकारले अन्त्य गर्ने दाबी गरे ।

सचिव आर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताए । खाडी मुलुकमा जाने श्रमीकको लागि पनि २ लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर