‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट

शहीद स्मारक ‘ए’ डिभिजन लिग-२०७९ सम्पन्न भएको छ । डबल लिगका आधारमा भएको प्रतियोगितामा कुल १८२ खेल सम्पन्न हुँदा नवप्रवेशी टोली चर्च ब्वाइजले उपाधि उचाल्न सफल भयो । प्रतियोगिताको उपाधि पहिलो पटक ए डिभिजन लिग खेलेको चर्च ब्वाइजले कब्जा गरेको हो । यसै सिजन बढुवा भएको चर्च ब्वाइजले एक खेल अगावै साविक विजेता मच्छिन्द्र फुटबल क्लबलाई हेड टु हेडमा पछि पार्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन बनेको हो ।

चर्च ब्वाइज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन बन्यो । पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाइज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मर्स्याङ्दी फुटबल क्लबले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसीटी) ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाइज मनाङ मर्स्याङ्दीपछि लगातार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज २०७८ मा ‘सी’ च्याम्पियन, २०७९ मा ‘बी’ च्याम्पिन हुँदा शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा ‘सी’ च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै ‘बी’ च्याम्पियन र २०४३ मा ‘ए’ डिभिजन लिगको च्याम्पिन भएको थियो । १४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाइजले २५ औं चरणसम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ ।

यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रूपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेका बालगोपालले २०८० मा चर्च ब्वाइजलाई प्रशिक्षकको रूपमा उपाधि दिलाउन सफल भएका हुन् । यसैगरी विभागीय क्लब एपीएफ र एफसी खुमलटार बी डिभिजनमा घटुवा भएका छन् । यस पटक ‘ए’ डिभिजन लिगका खेलहरू ३ वटा मैदानमा आयोजना गरिए । एन्फा मैदान सातदोबाटो, च्यासल मैदान र त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आयोजना गरिएको थियो ।

‘ए’ डिभिजन लिगमा चर्च ब्वाइजले २६ खेल खेल्दा सर्वाधिक १३ खेलमा जित निकाल्न सफल भयो । चर्च ब्वाइजले प्रतियोगिताभर ३५ गोल गर्दा १५ गोल व्यहोर्न पुग्यो । उपाधि विजेता चर्च ब्वाइजले ७५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी गत संस्करणको उपाधि जितेको मच्छिन्द्र क्लब यस सिजन उपाधि जोगाउन असफल रह्यो । तर, दोस्रो स्थानमा रहन सफल भयो । मच्छिन्द्र ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा २६ खेलमा १२ मा जित ९ मा बराबरी र ५ खेलमा हार भोग्न बाध्य भयो । मच्छिन्द्रले सर्वाधिक ४१ गोल गर्दा २६ गोल खायो । मच्छिन्द्रले ५० लाख रुपैयाँको चेक प्राप्त गरेको छ ।

यस्तै विभागीय क्लब नेपाल पुलिस तेस्रो स्थानमा रहेर लिगको समापन गर्‍याे । पुलिसले ४१ अंक जोड्दा १२ खेलमा जित र ५ खेलमा बराबरी गरेको थियो । पुलिसले प्रतियोगिताभर ९ खेलमा हार भोग्यो । पुलिसले २९ गोल गर्दा ३० गोल सुम्पियो । तेस्रो भएको पुलिसले २५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी पुलिसले फेयर प्ले टिमको उपाधि पनि जितेको छ । पुलिसले थप ३ लाखको चेक पनि प्राप्त गरेको छ ।

यस्तै सुरुमा ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार मानिएको जावलाखेल युथ क्लब दोस्रो चरणमा लय गुमाउन पुग्दा अन्त्यमा चौथो स्थानमा पुग्यो । जवलाखेलले १० खेलमा जित ७ खेलमा बराबरी गर्दा ९ खेल गुमायो । ३७ अंक बनाएको जावालखेलले प्रतियोगिताभर ३९ गोल गर्दा ३३ गोल खान पुग्यो ।

यस्तै सातदोबाटो युथ क्लबले पाँचौं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । सातदोबाटोले १० खेलमा जित निकाल्दा ५ खेलमा बराबरी गरेको थियो । यसैगरी ११ खेलमा पराजित भयो । सातदोबाटोले २८ गोल गर्दा २८ गोल नै खान पुगे । सातदोबाटोले ३५ अंक जोडेको थियो ।

यस्तै न्युरोड टिम (एनआरटी) ले छैटौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्‍याे । एनआरटीले ८ खेलमा जित निकाल्दा १० खेलमा बराबरी खेल्यो । एनआरटीले सिजनभर ३३ गोल गर्दा ३७ गोल खान पुगेको थियो । सातौं स्थानमा विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । ८ खेलमा जित निकालेको आर्मीले १० खेलमा बराबरी गर्दा ८ खेलमा अंक गुमाएको थियो । आर्मी ३४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको हो । आर्मीले सिजनभर ३० गोल गर्दा २९ गोल व्यहोर्यो ।

यसैगरी मनाङ मर्स्याङ्दी क्लबले आठौं स्थानम रहेर यो सिजनको अन्त्य गरेको छ । मनाङले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी गरेको थियो भने ८ खेलमा पराजित भयो । मनाङले २५ गोल गर्दा २९ गोल खायो । नवौं स्थानमा थ्री स्टार क्लब आएको छ । अन्तिम खेलअघि रेलिगेशन पर्ने त्रासमा रहेको थ्री स्टारले अन्तिम खेलमा जावलाखेलाई पराजित गर्दै ‘ए’ डिभिजन लिगमै आफूलाई राख्न सफल भयो । थ्री स्टारले प्रतियोगिताभर ३२ अंक बनायो । थ्री स्टारले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ८ खेल गुमायो । प्रतियोगिताभर सर्वाधिक कम गोल गरेको टिमको रूपमा थ्री स्टार रह्यो । थ्री स्टारले १८ गोल गर्दा १८ गोल नै खान पुगेको छ ।

यसैगरी दशौं स्थानमा संकटा क्लब रह्यो । संकटाले ७ खेलमा जित १० खेलमा बराबरी र ९ खेलमा पराजय भोग्न पुग्यो । संकटाको ३१ अंक रहेको थियो । संकटाले प्रतियोगिताभर २७ गोल गर्दा ३० गोल आत्मसात गर्‍याे । हिमालयन शेर्पा क्लब भने ११ औं स्थानमा रह्यो । शेर्पाले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ९ खेलमा पराजय भयो । शेर्पाले २८ गोल गर्दा ३५ गोल व्यहोरेको थियो । शेर्पाको ३१ अंक रह्यो ।

१२ औं स्थानमा रहने टिम हो फ्रेण्ड्स क्लब । फ्रेण्ड्स ३० अंकसहित रेलिगेशनबाट जोगिन सफल रह्यो । फ्रेण्ड्सले ७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको थियो भने १० खेलमा पराजय भयो । फ्रेण्ड्सले ४२ गोल गर्दा ३७ गोल खायो ।

यसैगरी यो सिजन तेह्रौं स्थानमा रहँदै रेलिगेशनमा पर्ने टिम विभागीय क्लब एपीएफ बन्यो । २६ खेलमा ८ खेल जित्दा ६ खेल बराबरी र १२ खेलमा पराजित भयो । २९ गोल गर्दा ३६ गोल खान पुग्यो । एपीएफ र फ्रेण्ड्सको समान ३० अंक रहे पनि गोल अन्तरका आधारमा एपीएफ रेलिगेशन भएर ‘बी’ डिभिजनमा घटुवा भयो ।

प्रतियोगितामा चर्च ब्वाइजका गोलकिपर प्रिसो उत्कृष्ट गोलकिपर चुनिएर २ लाख रुपैयाँ हात पारे भने थ्री स्टारका लकेन लिम्बूले उदीयमान युवा खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ हात पारे । चर्च ब्वाइजका अनन्त तामाङ मस्ट भ्यालुएबल खेलाडी बन्दै ३ लाख रुपैयाँ हात पारे । आफिज ओलावालेले सर्वाधिक गोलकर्ता बन्दै २ लाख रुपैयाँ पुरस्कार हात पारे ।

यसैगरी पहिलो सिजन ‘ए’ डिभिजन लिग खेलेको एफसी खुमलटार पुनः ‘बी’ डिभिजनमा घटुवा भएको छ । यसै सिजन ‘ए’ डिभिजन खेलेको चर्च ब्वाइजले लिग जित्ने इतिहास बनाउँदा खुमलाटार भने अभागी साबित भयो । खुमलटारले ८ खेलमा जित निकाल्दा ३ खेल मात्रै बराबरी खेल्यो । १५ खेल गुमाएको खुमलटारले सिजनभर ३४ गोल गर्दा ५४ गोल व्यहोर्‍याे ।

प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर