जनस्वास्थ्यको कुरामा सरकार निदाएको छ : सांसद भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए ।

सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको बताए । उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताए ।

सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सिमानाहरूमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए । उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेकाले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए ।

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंको समुदायमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताए । उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउने पानीका मुहान र सप्लाइ गर्ने ट्यांकरको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *