टेबल–टेबलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबल–टेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक बोलाई देउवाले जनताले सरकारबाट पाउने सुविधाहरू सहज र चुस्त रूपमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘तपाईंहरूले सरकारी कार्यालयका टेबल–टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस् ।’

देउवाले कानूनबमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधान सुविधा र इन्धन नदिन पनि निर्देशन दिएका छन् । इन्धनको मुल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानूनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधा पाए/नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिए । विद्युत खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्नेलगायतका कामहरू सबै मन्त्रालयलाई योजना बनाएर अघि बढ्न पनि उनले निर्देशन दिए ।

बैठकमा सरकारका सबै मन्त्रीहरूले आर्थिक वर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *