मटिहानी आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी-६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुँडासहित घर जलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ ।

बनीबुतो र  खेत बढैया (अधिया)गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै भन्छन्, ‘आव केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !’

मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा ।

‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)’, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आव परिवारके कोना गुजारा चलत-अब परिवारको गुजारा कसरी चल्ला !’

बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएका थिइन् । घर फर्कँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौको थातथलो देखेर अझै बेचैन छिन् ।

अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्णरूपमा जलेर खरानी बनायो ।

आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो ।

आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो । आज अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयोग प्रदान गरेका छन् ।

यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर