प्रहरी समायोजन माग गर्दै मधेस सरकारका मन्त्री र सांसद धर्नामा बस्ने

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारका मन्त्री र सांसद धर्नामा बस्ने भएका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापनसमेत पठाएको तर त्यसतर्फ ध्यान नदिएकाले अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए ।

शनिबार पत्रकार सम्मेलन गरी उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आइतबारदेखि बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताए । ‘यो आन्दोलन एक सातासम्म चल्छ,’ उनले भने, ‘त्यस अवधिमा पनि सरकारले ध्यान नदिए अर्काे चरणको आन्दोलन घोषणा गर्छौं ।’

धर्नामा प्रदेशका मन्त्री र सांसदको सहभागिता रहने मन्त्री साहले बताए । यसअघि प्रदेशका मन्त्रीहरूले गत साता प्रहरी समायोजनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै आन्दोलनको अल्टिमेटम दिएका थिए ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ । तर, प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *