मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष तिमिल्सिनाको चुनौती- गलत कुरालाई गलत भन्ने आँट गर्नुस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागे पनि गलत कुरालाई गलत भन्न सक्ने आँट गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ ।

सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसद्मा हात उठाउनुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्ने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधानविपरीत भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनी राष्ट्रिय सभालाई प्रश्न गरेका थिए ।

राष्ट्रिय सभा आफैंले संविधानको, संघीयताको विरुद्धमा गएर विधेयकहरू पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए । उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे ।

अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरूले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे । उनले सरकारले ल्याएका कुनै पनि विधेयकहरू फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरू पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताए ।

उनले हालै आएको नागरिकता विधेयकमा पनि संसद्मा छलफलका क्रममा विरोध जनाएका सांसदहरू नै पास गर्ने बेलामा संसद्बाटै भागेको बताए । उनले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पारे ।

उनले अहिले संघीयता ठीक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभई संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर