२७ भदाैमा नेपाल आउँदै चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदाै २७ मा नेपालकाे तीन दिने भ्रमणमा आउँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को सात सदस्यीय पोलिटब्यूरो स्यान्डिङ कमिटी सदस्य ली करिब एक सय अधिकारीहरूका साथ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

अध्यक्ष ली राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछ्याङपछिका तेस्रो वरियताको शीर्ष नेता हुन् । भ्रमण दलमा सीपीसीको मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका २ जना नेता र विदेश मन्त्रालयका अधिकारीलगायत रहने बताइएको छ । भ्रमणदलले २७ देखि २९ भदाैसम्म नेपाल भ्रमण गर्नेछ ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्।

ली नेपालसहित चार देशको ११ दिने भ्रमणमा रहेका छन् । नेपाल भ्रमणअघि लीले रुस र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । नेपालबाट उनी दक्षिण कोरियाको भ्रमणमा जाने छन् ।

परराष्ट्र मन्त्रालय र संसद् सचिवालयले चिनियाँ नेताको स्वागतका लागि तयारी तीव्र पारेका छन्। परराष्ट्र मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको भ्रमणको संक्षिप्त कार्यतालिकाअनुसार नेपाल आएकै दिन भदौ २७ गते ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ।

नेपाल र चीनका व्यवस्थापिकाबीचको सम्बन्ध विस्तार, नेपाल र चीनका शासन र सुशासनका अनुभव, सांसदबीच भ्रमण आदानप्रदान, जलवायु परिवर्तन, द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध, विगतमा भएका सहमति कार्यान्वयन र अन्तर्राष्ट्रिय परिस्थितिलगायत मुद्दामा सापकोटा र लीबीच छलफल हुने बताइएको छ । नेपाल आएकै दिन ली र उनको भ्रमण दलको सम्मानमा सभामुख सापकोटाले रात्रिभोज दिनेछन्।

परराष्ट्रका मन्त्रालयका अनुसार चिनियाँ नेता लीको प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भदौ २८ गते भेटवार्ता हुनेछ।

त्यही दिन चिनियाँ जनकंग्रेसका अध्यक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते शिष्टाचार भेट हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर