भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको उद्घाटन गरिएको छ ।

भारत सरकारको रु तीन करोड ६७ लाख आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको परियोजनाको आज खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । सो अवसरमा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

यस परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्गे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवं नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।

परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद् विरुद्ध जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ८९ वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा एक सय छ वटा परियोजना रहेका छन् जसमा नौ परियोजना चितवनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर