निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले सो आग्रह गरेका हुन् ।

ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्द्धित पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एशियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरे ।

“मुलुकको विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहन्छ । यहाँहरूले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुका साथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ । निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीका प्रशस्त सम्भावनाहरू छन् । स्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुप¥यो,” ढकालले भने ।

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एशियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए ।

उक्त अवसरमा एशियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताए ।

भेटमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एशियाली विकास बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर