यी हुन् प्रधानसेनापति शर्माले ल्याएका कल्याणकारी कार्यक्रम र योजनाहरू

नेपाली सेनामा प्रभुराम शर्माले प्रधानसेनापतिको पदबहाली गरेको भदौ २६ गते एक वर्ष पूरा भएको छ। पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापति शर्माले सैनिक मुख्यालय जंगी अड्डामा सकलदर्जालाई सम्बोधन गरेका थिए।

प्रधानसेनापति शर्माले पदबहाली गरेको एक वर्षमा आफूले ल्याएका महत्त्वपूर्ण कल्याणकारी कार्यक्रम तथा योजनाहरू ७ बुँदामा समेटेर प्रस्तुत गरेका थिए।

प्रधानसेनापति शर्माले अवकाशप्राप्त सैनिक तथा पारिवारिक निवृत्तिभरण उपभोग गरिरहेका व्यक्तिहरूले ७५ वर्ष र ६५ वर्ष उमेर पूरा भएपश्चात् निश्चित तोकुवा रकम प्राप्त गर्ने गरेकोमा सो व्यवस्थालाई संसोधन गरी निवृत्तिभरण रकमको १०/१० प्रतिशत रकम थप हुने व्यवस्था आफ्नो पहिलो वर्षको कार्यकालमा लागू गरिएको बताएका छन्।

यस्तै सैनिक अस्पतालमा उपचार नहुने गम्भीर प्रकृतिका रोगको उपचारका लागि श्रीमान् श्रीमतीलाई ५/५ लाख रुपैयाँका दरले स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएकोमा त्यसलाई पुनरवलोकन गरी श्रीमान् श्रीमतीलाई ७/७ लाखका दरले १४ लाख रुपैयाँ पुर्‍याउने व्यवस्था गरिएको बताएका छन्। उनका अनुसार सोही रकमको सीमाभित्र रहेर अभिभावकको मन्जुरीमा गम्भीर प्रकृतिका रोगको उपचारका लागि २१ वर्ष उमेरसम्मको एक जना आश्रित सन्ततिलाई समेत यो सुविधा दिइनेछ।

चिकित्सा सेवाको गुणस्तर अभिवृद्धि गर्न दुई दिने मेडिकल सेमिनार सञ्चालन गरी त्यसबाट निस्केका निष्कर्षहरूमा आधारित रही आगामी दिनको लागि कार्ययोजना तयार गरेर शीघ्र कार्यान्वयनको लागि निर्देशित गरिएको पनि शर्माले उल्लेख गरेका छन्, जसबाट स्वास्थ्य क्षेत्रमा सुधार देखिने विश्वास उनले लिएका छन्।

कल्याणकारी सेवा सुविधा तथा सहुलियत सहजता र समानताका आधारमा क्रमशः वृद्धि गर्दै लगिएको, सोहीअनुरूप आवास निर्माणका लागि सहुलियतपूर्ण ऋण तथा कर्जा कार्यक्रमलाई अझै फराकिलो बनाउने कार्य भइरहेको र हालसम्म ४४० जनाले उक्त कर्जा प्राप्त गरिसकेको प्रधानसेनापति शर्माले बताएका छन्।

सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित महाविद्यालय/विद्यालयको भौतिक पूर्वाधार, सुविधा तथा शिक्षाको स्तर अभिवृद्धि गर्ने कार्यलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको, हिताधिकारीको सर्वसुलभ पहुँचका लागि स्वास्थ्य सेवालाई थप विकेन्द्रिकृत गरी आधुनिक प्रविधि, इक्युपमेन्ट तथा दक्ष जनशक्तिबाट परिपूर्ति गर्ने कार्य भइरहेको शर्माको भनाइ छ।

उपलब्ध स्रोत साधनका आधारमा सकलदर्जाको मनोबल बढाउन नेपाली सेनाको कल्याणकारी सोचअनुरूप कल्याणकारी सुविधालाई विकेन्द्रीकृत, पारदर्शी, परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउने योजनाहरूलाई आफूले प्राथमिकतामा राखेको प्रधानसेनापति शर्माले बताएका छन्।

प्रतिक्रिया

One thought on “यी हुन् प्रधानसेनापति शर्माले ल्याएका कल्याणकारी कार्यक्रम र योजनाहरू

  1. सलाम सर बाहाल वाल तर क्यान्सर मृगाैला फेल जस्ता प्राण धातक राेगले समाएका राेगि हरुकाे लागि पनि केहि सेबा सुबिदा पाउन सकिन्छ कि भनि आसाबादि छु सर।

Leave a Reply to राजु साई Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर