अवकाशप्राप्त समायोजित सेनाको मागप्रति सकारात्मक छु : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाशप्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आइतबार चितवनमा सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए ।

उनले भने, “उहाँहरूको मुख्य माग संगठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले संगठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्वसेनाको संगठनमा बसेरसमेत काम गर्नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा अवकाशप्राप्त समायोजित सेनाले आफूहरूको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले आइतबार माछा व्यवसायीसँग समेत भेट गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उनले माछा व्यवसायीहरूको माग सम्बोधन गर्न राज्य लाग्ने बताए । उनले भने, “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।”

माछा व्यवसायीले भन्सार छली आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए । संघका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातीत अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर