इन्द्रजात्रामा सात जनालाई हतियार प्रहार गर्ने चार जना पक्राउ

प्रहरीले भदौ २९ गते इन्द्रजात्राको दिन काठमाडौंका विभिन्न स्थानमा हतियार प्रहार गरेर फरार रहेका चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१ का २२ वर्षीय राजेश लामा बल, सिन्धुलीको तीनपाटन गाउँपालिका–१ का १८ वर्षीय राजु मगरलगायत छन्। अन्य दुई जनाको प्रहरीले परिचय खुलाएको छैन।

पक्राउ परेकाहरूले भदौ २९ गते राति ९ बजे काठमाडौं महानगरपालिका–२१ जैशीदेवललगायत विभिन्न स्थानहरूमा मादक पदार्थ सेवन गरी राजीव श्रेष्ठलगायत ७ जना व्यक्तिहरूलाई अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोप छ। प्रहरीका अनुुसार हतियार प्रहारपछि फरार रहेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

घटनाको सूचनापछि घटनास्थलमा प्रहरी अधिकृतसहितको प्रहरी टोली खटिएर घाइतेहरूलाई उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचार सुरु गरिएको थियो।

प्रहरीले अनुसन्धानका विविध विधि र प्रविधिहरूको प्रयोग गरी अनुसन्धान गर्दै जाँदा घटनामा उनीहरूको संलग्नता रहेको पुष्टि गरेको हो।पक्राउ परेकाहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद –१२ को ‘ज्यानसम्बन्धी कसुर’मा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *