अख्तियारको छानविनमा रहेका व्यक्तिलाई काठमाडौं १० मा टिकट दिन लागेको भन्दै एमालेमा असन्तुष्टी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका ब्यक्तिलाई नेकपा एमालेले काठमाडौं १० बाट उम्मेद्वार सिफारिस गरेपछि पार्टीभित्र र बाहिर बिरोध सुरु भएको छ । स्थानीय नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलाई प्रतिनिधिसभाको टिकट दिन लागेको भन्दै असन्तुष्टी जनाएका छन् । आयोगले कीर्तिपुर नगरपालिकाले रंगशाला निर्माणक्रममा भएको नीतिगत भ्रष्टाचारको विषयमा अध्ययन सुरु गरेको छ । कीर्तिपुरका पूर्व मेयर महर्जनको कार्यकालमा रंगशाला निर्माणको क्रममा भएको अनियमिततामाथि छानविन सुरु गरेको हो । नगरपालिकाको आन्तरिक छानविनमा समेत अनियमितता भएको देखिए र प्रतिवेदन गोप्य राखेपछि त्यसविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
महर्जनमाथि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार नगरी आफू निकटका व्यक्तिहरुलाई उपभोक्ता समितिमार्फत काम गर्न दिएको आरोप लाग्दै आएको छ । रंगशालाको पर्खाल निर्माण पुरुवा माटोमा भएको स्थानमा निर्माण गर्दा भत्किन पुगेको छ ।
‘पुरुवा माटोमाथि बिना डीपीआर पर्खाल बनाएरको थियो । त्यसमा टेण्डर गरेर पर्खाल लगाउने २ करोड रुपैयाँको बढीको भुक्तानी दिइयो’ नगरपालिकाका एक पूर्व अधिकारीले भने, ‘पछि त्यही काम उपभोक्ता समितिमा आफ्नो मान्छेलाई राखेर काम गर्न दिइयो । त्यसमा पनि १ करोड रुपैयाको भुक्तानी भएको छ ।‘
रंगशाला निर्माणको विषयमा भएको अनियमितताको बारेमा नगरपालिकाले आन्तरिक छानविन गरेपछि सो प्रतिवदेन गोप्य राखिएको छ ।
२०७४ सालको स्थानीय तह चुनावमा महर्जन एमालेबाट मेयरमा निर्वाचित भएका थिए । महर्जन अहिले काठमाडौं १० बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । अन्तरिक प्रतिद्वन्द्वीताले कमजोर बनेको कीर्तिपुर नगरपालिकाका यसपटकको स्थानीय तह चुनावमा एमालेको लज्जास्पद प्रदर्शन रह्यो ।
कहिले बामदेव गौतमको राष्ट्रिय एकता अभियान त कहिले १० बुँदे सहमतिको पक्षधरतर्फ लागेका महर्जनमाथि स्थानीय तह चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन पर्याप्त रुपमा सहयोग नगरेको आरोप पनि रहेको छ । कुनै समय वामपन्थीहरुको किल्ला रहेको कीर्तिपुरमा एमाले सबैभन्दा कमजोर प्रदर्शन रहेको थियो । नगरपालिकामा एमालेका ३ जना दलीय महिला सदस्य मात्रै निर्वाचित भएका छन् । रमेशको अतिरिक्त काठमाडौं १० को उम्मेदवारका लागि विनोद श्रेष्ठ, शरब महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम उम्मेदवारका सिफारिस भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर