ताप्लेजुङमा मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन जना पक्राउ, १४३ ताेला सुन बरामद

ताप्लेजुङ प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङस्थित सो मनी ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले १७ असोजमा नगद तथा सुन लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल छन् ।

फरार रहेका एक जनाको खोजी जारी रहेको प्रनाउ राईले जानकारी दिए । उनीहरूको साथबाट नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँसहित एक सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैँचीलगायत सामग्री) सार्वजनिक गरेको छ ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी हाल सुनको बजार भाउअनुसार तीन करोड ३९ लाख ९९ हजार छ सय रुपैयाँ बराबरको तीन सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् ।

पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए/नभएकोबारे कागजात अनुसन्धान गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । उनले भने, “सुन कारोबार (जाकट) इजाजत छ वा छैन, कागजात मागेका छौँ, अनुसन्धान हुन्छ ।”

आरोपीले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्न लागुपदार्थ सेवनकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरूले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपितविरुद्ध अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर