वाईवाईमा कम गुणस्तरकाे तेल प्रयाेग, क्यान्सरकाे खतरा

सरकारी निकायले गरेको परिक्षणमा चौधरी समूहको ‘सिग्नेचर’ उत्पादन वाईवाई नुडल्समा कम गुणस्तरको तेल प्रयोग गरेको पाइएको छ। खाद्य गुणस्तरका विज्ञका अनुसार कम गुणस्तरको तेल प्रयोग भएका कारण यसबाट क्यान्सर समेत हुने खतरा रहन्छ।

काठमाडौं महानगरपालिका ६ स्थित सरस्वती नगरको किराना पसलबाट बैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं.एएलरवाईएल २३ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको महानगरले बताएको छ ।

प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने बताए ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनअनुसार खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा देखिएको थियो । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएचरजी आयल देखिएको छ । जबकी यसको भ्यालु १ एमजी केओएचरजी आयलभन्दा बढी हुनु हुँदैन ।

खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए ।

चाउचाउको बिक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरलाई ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिवद्धता गर्दै पत्र काटेको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपाल हुने उक्त पत्रमा उल्लेख छ ।

कम गुणस्तरको चाउचाउ भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । बैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *