नेपाल प्रहरीका इन्स्पेक्टर सहकर्मीलाई बलात्कार प्रयास आरोपमा १० दिनदेखि थुनामा

इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर अपूर्व ढुंगाना बलात्कार प्रयास आरोपमा १० दिनदेखि थुनामा रहेका छन्।

एक सहकर्मी महिला प्रहरीले आफूमाथि असोज १५ गते बलात्कार प्रयास गरेको भन्दै दिएको जाहेरीका आधारमा सोही दिन पक्राउ गरेर उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा थुनामा राखिएको कार्यालयका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले बताए।

इन्स्पेक्टर ढुंगानामाथि असोज १५ गते राति १ बजे इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप छ।

‘आरोपित प्रहरी कर्मचारी (इन्स्पेक्टर ढुंगाना)लाई घटनाकै दिन असोज १५ गते पक्राउ गरी थुनामा राखेका छौं,’ डीएसपी खत्रीले भने, ‘जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं।’

जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएसँगै आरोपी ढुंगाना स्वतः निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबल बहादुर बमलाई काजमा खटाएको छ।

इलाका प्रहरी कार्यालय कमाण्डरविहीन भएपछि त्यहाँ इन्स्पेक्टर बमलाई काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर