प्रहरी दिवस–२०७९

प्रदेश १ प्रहरी कार्यालय उत्कृष्ट, डीआईजी गिरीलाई ‘प्रहरी व्याटन’

प्रहरी प्रधान कार्यालयले प्रदेश १ प्रहरी कार्यालयलाई उत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीलाई यसवर्षको प्रहरी व्याटन प्रदान गर्ने निर्णय गरेको छ ।

प्रहरी उच्च अधिकारीका अनुसार डीआईजी गिरीलाई प्रहरी ब्याटनसहित अभिलेखमा जनिनेगरि २५ सय रुपैयाँ नगदसमेतले पुरस्कृतगर्ने निर्णय भएको हो ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसका अवसरमा ३१ असोजमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजनागर्ने विशेष समारोहकाबीच डीआईजी गिरीलाई प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गर्नेछन् । यद्यपी यो जानकारी प्रहरी प्रधान कार्यालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन् ।

प्रहरी प्रधान कार्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको नेतृत्वमा बनाएको समितिले अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकनमा प्रदेश १ प्रहरी कार्यालयलाई उत्कृष्ट ठहराएको हो । स्रोतका अनुसार समितिलाई प्राप्त कार्यादेश र महानिरीक्षक धिरजप्रताप सिंहको सचिवालयले बनाएको मापदण्डमा डीआईजी गिरीको नेतृत्वमा रहेको कार्यालय उत्कृष्ट भएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई प्रहरी दिवसका दिन पुरस्कृत गर्दै आएको छ। प्रहरी स्थापना दिवसको दिन पारेर यो पुरस्कार दिने गरिन्छ। र, यो पुरस्कार सो कार्यालयका प्रमुखलाई प्रमुख अतिथि प्रधानमन्त्रीले प्रदान गर्ने परम्परा रहेको छ ।

यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो । एआईजी सुवेदीको नेतृत्वमा रहेको समितिले ७ वटा प्रदेश प्रहरी कार्यालयसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालयको स्थगत भ्रमण गरेको थियो ।
निरीक्षण–मूल्याकंनमा प्रहरी कार्यालयको साजसज्जादेखि समग्र व्यवस्थापन हेरिने गरेको छ ।

‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्यविवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ,’ स्रोतले पर्दाफासलाई बतायो ।

 

सम्बन्धित समाचार:

नेपाल प्रहरीमा ‘पुलिस ब्याटन’ को दौड सुरु

 

यस्तै सातवटै प्रदेशमा रहेका प्रहरी कार्यालय समेतले आफू मातहतका प्रहरी इकाइहरूको आन्तरिक मूल्यांकनका लागि समिति बनाएका छन् । यस वर्षका लागि पूर्ण शान्ति पुरस्कार र उत्कृष्ट अनुसन्धानकर्ताको चयनसमेत हुनेछ ।

यसपटकको प्रहरी दिवशमा नयाँ आर्कषण भनेको अवकाशप्राप्त महानिरीक्षक मोतिलाल बोहराले स्थापना गरेको सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार रहेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । उनका अनुसार ५० हजार रुपैयाँ नगद राशीको यो पुरस्कारका लागि स्थापना भएको गुठीका लागि डीआईजी भिमप्रसाद ढकालको नेतृत्वमा रहेको समितिले मूल्याँकन गर्नेछ ।

प्रहरी प्रधान कार्यालयमा ३१ असोजमा बिहान र अपरान्ह गरि दुई कार्यक्रम राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर