जोरपाटी-साँखु सडकखण्ड दुई वर्षभित्रमा निर्माण सम्पन्न गराउँछु : ओनसरी घर्ती

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी छन्।

आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की नेतृ घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गराउने घोषणा गरेकी छन् । यदि सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने उनले बताइन् ।

उनले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताइन् । उनले जर्सिङपौवालाई संग्रहालयको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । नेतृ घर्तीले दक्षिणढोका, मूलपानीलगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकतामा राख्ने बताइन् ।

त्यसैगरी मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उनको प्रतिबद्धता छ ।

उनले विमानस्थल निर्माणका क्रममा प्रभावितहरूको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरिन् । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *