संविधान र लोकतन्त्र जोगाउने गठबन्धनलाई जनताले जिताउनुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताएका छन् ।

सत्तारूढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित ‘सत्तारूढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आबद्ध दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने तर्क गरे ।

उनले भोलिको भविष्य पनि सत्तारूढ गठबन्धनको नै भएकाले त्यसका नेताहरूले आफूहरूको समस्या समाधान गर्न सक्छन् भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गरे । उनले सत्तारूढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबाहेकका नेताहरू पनि भविष्यका प्रधानमन्त्रीहरू भएको उल्लेख गर्दै उनीहरूको पक्षमा मतदान गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुनेगरी क्रियाशील हुन पनि सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई आग्रह गरे । मुलुकको स्वाभिमानलाई उँचो राख्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *