आपराधिक क्रियाकलापमा संलग्न उम्मेदवारलाई मत नदिन जवाफदेहिता निगरानी समितिको अपिल

जवाफदेहिता निगरानी समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आपराधिक क्रियाकलापमा संलग्न उम्मेदवारलाई मत नदिन आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै समितिले भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न, न्याय तथा मानव अधिकारविरोधी उम्मेदवारलाई भोट नहाल्न भनेको हो।

यस चुनावबाट आगामी पाँच वर्षका लागि राज्य शासनको बागडोरको जिम्मा कस्ता जनप्रतिनिधिलाई सुम्पने भन्ने महत्त्वपूर्ण एवम् निर्णायक जिम्मेवारी प्राप्त भएको भन्दै यस सुअवसरप्रति अत्यन्तै संवेदनशील तथा सजग रहन आम मतदातालाई समितिले अपिल गरेको छ।

‘स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा मतदानद्वारा स्वच्छ छवि भएका योग्य, इमानदार तथा लगनशील प्रतिनिधि चुन्ने अवसर प्राप्त गर्नु लोकतन्त्र तथा सुशासनको पूर्वशर्त हो,’ समितिका संयोजक चरण प्रसाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सुदृढ एवं दिगो लोकतान्त्रिक भविष्य स्थापित गर्ने यो एक स्वर्णिम मौका पनि हो। तथापि कानूनी छिद्रको फाइदा उठाएर हत्या, भ्रष्टाचार तथा अन्य गम्भीर फौजदारी आरोप लागेका तथा प्रमाणित भएका व्यक्तिहरू पनि जनप्रतिनिधि बन्न विगतमा सफल भएका थिए। यसबाट नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ नभई राजनीतिक विचलन, विसंगति तथा विकृति बढेको, अन्तर्राष्ट्रिय छविमा आँच पुगेको र दण्डहीनता मौलाउँदै गएको निगरानी समितिको ठहर छ।’

समितिले आमनिर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी  विवेकको प्रयोग गरेर स्वच्छ छवि भएका योग्य, इमानदार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न मतदातालाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर