एआईजी थापालाई निमित्त आईजीपीको जिम्मेवारी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाले निमित्त प्रहरी महानिरीक्षक (आईजीपी)को जिम्मेवारी पाएका छन् ।

आईजीपी धीरजप्रताप सिंह सोमबार भारतको नयाँ दिल्लीमा कात्तिक १ मंगलबारदेखि ४ गते शुक्रबारसम्म सञ्चालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेपछि एआईजी थापाले निमित्त आईजीपीको जिम्मेवारी पाएका हुन् ।

आईजीपी सिंहको अनुपस्थितिमा एआईजी थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

इन्टरपोल महासभामा भाग लिन राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौंका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट पाँच सदस्यीय टोली दिल्ली प्रस्थान गरेको छ ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीन्द्रबहादुर धानुक, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा शुभकामनासहित बिदाइ गरेका छन् ।

१९५ इन्टरपोल सदस्य राष्ट्रका एनसीबी प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरूको वार्षिक प्रतिवेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरूको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराधजस्ता विषयहरूमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर