प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई यो महत्त्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हु्न्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत सरेका हुन्।

सुनक बेलायतको प्रधानमन्त्री बन्ने पहिलो भारतीय मूलका नागरिक हुने छन्। ४२ वर्षीय सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन्।

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो।

कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका सुनक प्रधानमन्त्री बन्ने भएका हुन्।

बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका सुनक सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर