सुर्खेतमा देउसे र प्रहरीबीच झडप, एक प्रहरी घाइते

सुर्खेतमा देउसे टोली र प्रहरीबीच झडप भएको छ। झडपमा एक जना प्रहरी घाइते भएका छन्।

बुधबार बेलुका ६ः३० भेरिगङ्गा नगरपालिका–९ जहरेबजारमा सोही नगरपालिका–८ स्थित सहारा युवा क्लबको देउसीभैलो टोलीबीच देउसीभैलो खेल्दै गर्दा आपसी विवादमा झैंझगडा भएको थियो। झगडाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी सहायक निरीक्षक सुवास खड्काको कमाण्डमा ४ जना प्रहरीको टोली सो स्थानमा खटिएको थियो।

प्रहरी टोलीले झगडा नगर्न सम्झाइबुझाइ गर्दा देउसी खेल्न र हेर्न भेला भएका करिब १५० जनाको समूहले उल्टै प्रहरीमाथि हातपात र ढुुङ्गामुढा गरेको बताइएको छ। सो क्रममा एक जना प्रहरी सहायक हवल्दार घाइते भएका छन्। उनको दुुवै घुँडामा चोट लागेको छ।

घाइते प्रहरी सहायक हवल्दारलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि मेहलकुना अस्पताल, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। अहिले उनकाे अवस्था सामान्य छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। प्रहरीसँगको झडपपछि थप १४ जना प्रहरी घटनास्थलमा खटिएपछि देउसीभैलो टोली तितरबितर भएका थिए।

ढुङ्गामुढा प्रहारबाट घटनास्थल नजिकै रहेका दुईवटा पसलको काउन्टरको सिसा फुटेको छ र देउसीभैलो हेर्न आएकी भेरिगङ्गा नगरपालिका–९ की ३८ वर्षीया रूपा पौडेललाई सामान्य चोट लागेको छ। उनी स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज भइसकेकी छन्।

ढुङ्गामुढा प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर