नेपाली क्रिकेटर सन्दीप लामिछाने बिरुद्ध मुद्दा दर्ता, १२ वर्ष कैदसजाय मागदाबी

बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।

प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।

गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे ।

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत अदालतमा उपस्थित गराएको थियो ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै प्रहरीले पक्राउ परेको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

सन्दीपले किशोरीकै आग्रहमा उनलाई भेटेको तर बलात्कार नगरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *