उर्लाबारी घटना : दशैंमा पनि हत्या प्रयास

मोरङको उर्लाबारीमा एक जना बालकको हत्या भएको छ। झापाको दमक नगरपालिका वडा नं.–१० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको हो।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका वडा नं.–६ चन्द्रमा चोक बस्ने सरोज बस्नेत, उर्लाबारी नगरपालिका वडा नं.–६ वानडाँडा बस्ने सन्देश खवास, उर्लाबारी नगरपालिका वडा नं.–७ तरूण चोक बस्ने सपन खत्री, उर्लाबारी नगरपालिका वडा नं.–६ पानी ट्यांकी बस्ने मन्जिल माझी र उर्लाबारी नगरपालिका वडा नं.–६ वानडाँडा बस्ने विकास तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठका अनुसार उनीहरूले आइतबार बिहान करिब साढे १० बजे उर्लाबारी नगरपालिका वडा नं.–७ स्थित मौवा खोलामा छठ मेलामा दियुसमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाइते दियुसको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ०४:५० बजे मृत्यु भएको हो।

प्रहरी अनुसन्धानका क्रममा दियुसको पुरानो रिसिबी साँध्न हत्या भएको खुलेको छ। दियुसको दशैंमा समेत हत्या प्रयास भएको थियो। ‘उनीहरूबीच पहिलादेखि नै झगडा हुँदै आएको रहेछ। दशैंमा पनि झगडा भएको रहेछ,’ डीएसपी श्रेष्ठले पर्दाफाससँग भने।

रिसिबी साँध्न हत्या भएको बताइए पनि के कुरामा रिसिबी हो भन्ने विषय खुलिनसकेको डीएसपी श्रेष्ठले बताए। उनका अनुुसार घटनामा आठ जना संलग्न थिए। तीमध्ये पाँच जना पक्राउ परेका हुन्। अन्य तीन जनाको खोजी र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर