मुक्तिनाथ विश्वभरका हिन्दू र बौद्धमार्गीको साझा आस्थाको धरोहर : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रूपमा रहेको बताएकी छन्।

शुक्रबार मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरेकी हुन्।

उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रूपमा लिएको पनि बताइन्। ‘मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रूपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्त्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु।’

बहुसांस्कृतिक आयाम बोकेर सदियौंको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्त्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उनको भनाइ थियो। राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताइन्।

‘मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधि हुन्, यिनीहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुनुपर्छ। यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ,’ उनले भनिन्।

उनले मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी पहल लिनुपर्ने धारणा राखिन्। राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोराला नाकाले मुस्ताङलाई अर्को परिचय दिएको बताइन्।

‘हाम्रा उत्पादनका लागि सहज बजार हुने दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना कोराला नाकाले खोल्ने भएकाले स्थल मार्गबाट नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ,’ उनले भनिन्।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गरेकी थिइन्। उनले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेकी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गरेकी छन्। गैरआवासीय नेपाली सङ्घका पूर्वउपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबुद्धको मूर्ति निर्माण गरिएको थियो। भगवान् विष्णुको मूर्ति पनि उनकै लगानीमा बन्न लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर